पेलेरै आयो कमेडी क्लब विथ च्याम्पियन, पहिलो एपिसोड साह्रै झुर
काठमाडौँ : कि इन्टरटेन्मेन्टले पेलेरै कमेडी क्लब विथ च्याम्पियन्स ल्यायो। कार्यक्रमको नाममा टु पोइन्ट जिरो थपियो।
तर कार्यक्रममा च्याम्पियनको सङ्ख्या जिरो त थियो नै कमेडी पनि जिरो नै देखियो।
पुरानो टिम थ्री प्रडक्सनको च्याम्पियन्स र कि इन्टरटेनमेन्टको कमेडी क्लब मिलाएर कार्यक्रम बनेको थियो।
अनि कार्यक्रममा कमेडी च्याम्पियनको सहभागीहरू नै थिए। त्यसैले कार्यक्रमको नाम कमेडी क्लब विथ च्याम्पियन्स सुहाएको पनि थियो।
पहिलाको टिममा नयाँ भनेको दीपाश्री निरौला मात्र। विशाल भण्डारी कमेडी च्याम्पियनको प्रड्युसर भइहाले। विक्की अग्रवाल, मेक्सम गौडेल, विक्की कार्की, सुमन कार्की सबै सहभागी।
तर सोमबार प्रसारण भएको एपिसोडमा च्याम्पियनहरू सुन्ना। सबै नयाँ कलाकार। राजाराम पौडेल कार्यक्रमको सभापति। अगाडि बस्ने अनि हाँस्ने भूमिका। उहीँ दीपाको।
पहिलो एपिसोड भएर हो कि जमेनन् उनी। उनले कार्यक्रमको सुरुवात गर्दा नै खल्लो देखियो।
विशालको ठाउँमा यमन श्रेष्ठ। पहिला पनि विशाल जमेका त हैनन्। मिहेनत गर्दै गएर पछि फिट भएका थिए। तर यमनले विशालको पहिलो एपिसोड पनि बिर्साउन सकेनन्।
कलाकारमा रोशन सुवेदी, अजय रेग्मी, दोरेश खतिवडा, सुचित्रा उप्रेती अनि अर्पन तामाङ। को होलान् यी!
पहिलो एपिसोडमा अतिथि महानायक राजेश हमाललाई ल्याए। तर महानायक आएको शोको क्वालिटी चैँ महा नालायक जस्तो देखियो।
ह्या विशाल एन्ड कम्पनीले नमाने के भो त भनेर पेलपाल पारेर कार्यक्रम त बनाए तर दर्शकका लागि ए ग्रेडको फिल्म भनेर झुक्क्याएर सी ग्रेडको फिल्म हेराए झैँ देखियो।
नक्कल गर्न पाइन्छ। पहिलाको शो पनि नक्कलै त थियो। तर अक्कल मिसाएका थिए टिमले। तर विशाल समूहले स्थगित गरेको कार्यक्रम एकतर्फी पेलेर ल्याउँदा नक्कल गर्ने क्षमतावान् अक्कल भने छुटेछ।
उकेरासँगको कुराकानीमा थ्री प्रडक्सन टिमले अनुमति नलिई उहीँ कार्यक्रम ल्याए कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए। हेरौँ के गर्छन्।
तर उनीहरू अदालती प्रक्रियामा गएनन् र पहिलो एपिसोड जस्तै कार्यक्रम बन्यो भने अदालतको स्टे अर्डरै चाहिन्न। दर्शकको अदालतले नहेरेरै कार्यक्रम बन्द हुन्छ। सङ्केत ओएसआरको युट्युब च्यानलको कमेन्टले देखाइसक्यो।
साउन २९, २०८० सोमबार २३:४८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।