साउनको अन्तिम सोमबार पशुपतिमा दुई लाखभन्दा बढी दर्शनार्थी

साउनको अन्तिम सोमबार पशुपतिमा दुई लाखभन्दा बढी दर्शनार्थी
तस्बिर- सुरज धामी

काठमाडौं : साउनको अन्तिम सोमबार दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन्।

विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो।

सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए।

कोषले पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिकै जसरी नै व्यवस्था गरेको थियो। भक्तजन जुन ढोकाबाट दर्शनका लागि छिरेका थिए, त्यसै ढोकाबाट निस्कने व्यवस्था गरिएको थियो।

यस वर्ष सौरमासअनुसार साउनमा पाँच सोमबार परेको छ। सौरमासअनुसार साउने सोमबारको अन्तिम दिन आज भए पनि यसपछि पनि चान्द्रमासअनुसार साउनका सोमबार भने बाँकी नै छन्।

यस वर्ष सौरमासअनुसार साउन महिनामा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ।

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसारको साउन महिनामै गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत गरी त्यसको उद्यापन गर्नु हुने तर्क गरेका छन्।

अर्का थरी धर्मशास्त्रीले भने अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउन महिनामा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन्।

पशुपतिनाथमा साँझ आरती हेर्न आउने भक्तजनको पनि भीड लाग्ने भएकाले पनि भक्तजन बेलुकीसम्म धेरै देखिएका हुन्। पशुपतिनाथमा बेलुका भक्तजन आएसम्म सौरमासअनुसार साउनको अन्तिम सोमबारको दर्शन गर्न दिइने कोषले जनाएको छ।

साउन २९, २०८० सोमबार २२:१३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।