सक्कली चिकित्सकलाई नक्कली भन्दै पक्राउ गर्नेमाथि कारबाही गर्न चिकित्सक संघको माग

सक्कली चिकित्सकलाई नक्कली भन्दै पक्राउ गर्नेमाथि कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौँ : सक्कली चिकित्सकलाई नक्कली भनेर पक्राउ गर्दै मानसिक तनाव दिएको भन्दै नेपाल चिकित्सक सङ्घले घटनामा संलग्न पक्षमाथि कारबाहीको माग गरेको छ।

मेडिकल काउन्सिलले दिएको सूचीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डा रञ्जित कुमार यादवलाई पक्राउ गरेको थियो। अनुसन्धानमा उनको शैक्षिक प्रमाण पत्र सक्कली देखिएपछि उनी रिहा भए। सीआईबीले उनलाई साउन २५ गते पक्राउ गरेको थियो।

सङ्घले भने उनलाई मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै कारबाहीको माग गरेको हो।

सङ्घले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा डा यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।

‘यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

सङ्घले कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बिचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्याऊ नेता चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्य भएको भन्दै निन्दा गरेको छ।

साउन २९, २०८० सोमबार २२:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।