सत्ता गठबन्धनको बैठकमा सुन तस्करीमा जोडिएका महराबारे छलफल, अहिले केही भन्न नसकिने गृहमन्त्रीको जवाफ

सत्ता गठबन्धनको बैठकमा सुन तस्करीमा जोडिएका महराबारे छलफल, अहिले केही भन्न नसकिने गृहमन्त्रीको जवाफ

काठमाडौँ : सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र उनको छोरा राहुल महराको सुन तस्करीमा संलग्नताबारे प्रश्न उठेको छ। बैठकमा सहभागी अन्य दलका नेताहरूले भेपमा लुकाएर ल्याएको सुन तस्करीमा महरा बाबुछोराको संलग्नताबारे के हो भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोधेका थिए।

तर श्रेष्ठले यसबारे अनुसन्धान भइरहेको छ भनेर धेरै जानकारी दिएनन्।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार मिडियाहरूमा आइरहेका समाचारका आधारमा भेपमा लुकाएर ल्याएको सुनको तस्करीमा महराको संलग्नता कति हो भनेर बैठकमा प्रश्न उठेको पत्रकारहरूलाई जानकारी दिएका थिए।

 सुन तस्करीमा संलग्न रही फरार रहेका चिनिया नागरिकहरूसँग महराको मोबाइल सम्पर्क देखिएको र मोबाइल फोन सम्पर्ककै आधारमा सुन तस्करी जस्तो गम्भीर अपराधमा संलग्नता पुष्टि हुन्छ या हुँदैन भन्ने विषयमा समेत छलफल भएको थियो। गृहमन्त्री श्रेष्ठले अहिले नै केही भन्न नसकिने जवाफ दिएको पाण्डेले जानकारी दिएका थिए।

‘सुन प्रकरणमा पूर्व सभामुखको संलग्नता कति हो? फोन सम्पर्क मात्रले संलग्नता जनाउँछ भन्ने कुरा कति प्रमाणित हुन्छ भनेर गृहमन्त्रीसँग कुरा राख्यौँ,’ पाण्डेले पत्रकारहरूमाझ भने, ‘उहाँले छानबिन चलिरहेको छ। यो प्रक्रिया एक हदसम्म पुगेपछि मात्र बताउन सकिन्छ भन्नुभयो।’ 

साउन २९, २०८० सोमबार २१:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।