अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन्।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताए।

बैठकमा प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऊँ।’

निजी क्षेत्रलाई विश्वासमा नलिइ र सहकार्य नगरी अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन भन्नेमा आफू स्पष्ट रहेको भन्दै आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता जनाए।

उनले थपे, ‘अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जे–जे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु। अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नुस्। यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ। देश अप्ठ्यारोमा पर्यो भने हामी सबै अप्ठ्यारोमा पर्छौं।’

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अंगले सरकारलाई साथ दिनुपर्ने बताए।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराए।

छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल, व्यवसायी संगठनका अध्यक्षहरू ढकाल, अग्रवाल र श्रेष्ठ सहभागी थिए।

साउन २९, २०८० सोमबार २०:५७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।