‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुनाको चल्ने छ खटनपटन
काठमाडौं : अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई दर्शकले अत्यधिक रुचाए।
फिल्म ‘कबड्डी ४’बाट एकसाथ देखिन थालेका उनीहरू अभिनित पछिल्लो फिल्म ‘जारी’ले १६ हलमा ५१ दिनसमेत मनायो। फिल्म हिट भएपछि यी दुईलाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ।
अब फेरि एकपटक यो जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने भएका छन्। अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’मा यी दुवै देखिने भएका हुन्।
निर्देशक मगरका अनुसार फिल्म मगर संस्कृतिको नजिक रहेर निर्माण हुनेछ।
जनक घर्ती मगरले निर्माण गर्न लागेको फिल्म माघको दोश्रो साताबाट रुकुम पूर्वमा छायांकन हुनेछ।
फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा ‘काउचा’ लगायतका कलाकारको अभिनय रहनेछ।
जीएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो। पटकथा र सम्वाद सुवास कोइराला र बिनोद खतिवडाको छ।
साउन २९, २०८० सोमबार १८:४७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।