सुन तस्करीको छानबिन सिआइबीले नै गर्नुपर्ने पक्षमा उभियो काँग्रेस

सुन तस्करीको छानबिन सिआइबीले नै गर्नुपर्ने पक्षमा उभियो काँग्रेस

काठमाडौँ : नेपाली काँग्रेसको संसदीय दल सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाटै टुङ्ग्याउनुपर्ने पक्षमा उभिएको छ। सोमबार सकिएको संसदीय दलको बैठकमा केही सांसदहरू उच्चस्तरीय समिति गठनको पक्षमा उभिएका थिए।

काँग्रेस सांसद शेखर कोइराला, प्रदीप पौडेल अनि सुनिल शर्माले सुन तस्करी प्रकरणमा सरकारको उपल्लो तहमा रहेकाहरू समेत शंकामा परेकाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा पार्टी उभिनुपर्ने धारणा राखेका थिए। तर बैठक उनीहरूको मागतिर गएन।

‘सुनलगायत प्रकरण छानबिनका लागि सरकारलाई स्वतन्त्र, निष्पक्ष र गहिराइमा गएर अनुसन्धान गरी जो-सुकै संलग्न भए पनि अभियोजन गर्न बैठकले आग्रह गरेको छ,’ काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,‘राज्यका निकायले छानबिन गरेर यसलाई सरकारले थप तदारुकता र पारदर्शितासाथ गम्भीर रूपमा लिएर निष्कर्षमा पुर्याओस्।’

बैठकले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको लेखकले बताए। कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद्को गतिरोध अन्त्य गर्न समेत आग्रह गरेको छ।

कांग्रेसले संसद् खोलेर त्यही सुन तस्करी लगायतका विषयमा बहस गर्न आग्रह समेत गरेको छ।

साउन २९, २०८० सोमबार १८:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।