सुशासन र समृद्धिको एकनिष्ठ उद्देश्यमा सरकार अघि बढिरहेछ : उपप्रधानमन्त्री श्रेष्ठ

सुशासन र समृद्धिको एकनिष्ठ उद्देश्यमा सरकार अघि बढिरहेछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताएका छन्।

गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो सर्त हो,’ बैठकमा उनले भने, ‘त्यसैले भ्रष्टाचार, अराजकता, दण्डहीनता र ठगीजस्ता अपराधको नियन्त्रण अहिलेको मुल प्राथमिकता हो।’

गृह मन्त्रालय र प्रहरी, अध्यागमन, विपाद् जोखिम, परिचयपत्र पंजीकरण लगायत मातहतका सबै निकायहरूको कामलाई निरन्तर समिक्षासहित अझ व्यवस्थित तथा मर्यादित बनाइने र समग्र सुधार योजना बनाएर अगाडि बढिने मन्त्री श्रेष्ठले बताए।

बैठकमा मन्त्रालय र अन्तर्गतका निकायका काम तथा योजनाहरू प्रस्तुत गरिएका थिए भने त्यसबारे अन्तरक्रियात्मक समीक्षासमेत भएको थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिको समेत बैठकमा सहभागिता थियो।

साउन २९, २०८० सोमबार १८:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।