प्रेम आलेको फिल्म खेल्ने इच्छा, ट्रेलर हेरेपछि भने- ‘यो फिल्ममा म भइदिएको भए...’
काठमाडौं : पूर्वमन्त्री एवं सांसद प्रेम आलेले फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन्।
सोमबार काठमाडौंमा फिल्म ‘ऐँचो पैँचो’को ट्रेलर रिलिज कार्यक्रममा शुभकामना दिन पुगेका आलेले फिल्म खेल्ने इन्छा व्यक्त गरे।
राजतीतिक सेरोफेरोमा बनेको फिल्मको ट्रेलर हेरिसकेपछि उनले आफूलाई पनि समेटेको भए फिल्म अझ राम्रो बन्ने तर्क गरे।
‘मैले यो फिल्मको ट्रेलर हेर्दै गर्दा लेखक, निर्देशकले पनि धेरै मेहनत गर्नुभएको,’ उनले भने, ‘यसमा मलाई पनि राखिदिएको भए सत्यतामा आधारित भएर म पनि काम गर्थेँ।’
ट्रेलर हेरिसकेपछि पछिल्लो समय राजनितिकर्मीले फिल्ममा जस्तै राजनीतिलाई पेशा बनाएको बताए।
उनले पत्रकारसँगको कुराकानीमा भने, ‘राजनितिलाई अहिले पेशा बनाउने काम पनि भइरहेको छ। यहाँ ट्रेलर हेर्दा कलाकारले भन्नुभएको छ। गरिबको पक्षमा लड्दा–लड्दा आफू त धनी भएको थाहै भएन। वास्तवमा पछिल्लो समय राजनितिमा यस्तै भइरहेको छ।’
फिल्मका बारेमा चर्चा गरिरहँदा एकीकृत समाजवादीका नेतासमेत रहेका आलेले फिल्मको कथामा राजनिति घुसाउँदा आफूलाई समेट्नसमेत आग्रह गरे।
आफूले जानेको र भोगेको कुरा स्क्रिप्टमा उतार्न सहयोग गर्ने उनको भनाइ छ।
साउन २९, २०८० सोमबार १८:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।