काम नभएका आयोजनाको ठेक्का तोड्ने, काम सकिएकाको भुक्तानी गर्ने अर्थमन्त्रीको आश्वासन
काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने बताएका छन्।
आन्दोलनरत निर्माण व्यवसायीबिच अर्थ मन्त्रालयमा सोमबार भएको छलफलमा महतले व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने समेत आश्वासन दिए।
'कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाडै काम सम्पन्न गरौँ। काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ। जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ' उनले भने।
उनले काम भइसकेर दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनुपर्छ भन्दै सबै दायित्व भुक्तानी गर्न तयार रहेको र बिल उठाएका सबै भुक्तानी हुने बताएका थिए।
कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन महतले निर्माण व्यवसायीसँग आग्रह गरेका थिए।
'सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ´ महतले भने, ‘मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौँ तर बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन। सम्बन्धित मन्त्रालयले बिल उठाउनुपर्यो।'
सरकारलाई अनावश्यक दायित्व सिर्जना हुने गरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए।
'अब यो च्याप्टर बन्द गरौँ। नयाँ शिराबाट काम सुरु गरौँ। अब नयाँ मूल्यको आधारमै ठेक्का लाग्छ। यसअघि कतिपय आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ, त्यस्ता ठेक्का तोडिन्छन्', अर्थमन्त्री महतले भने 'काम हुन नसकेका आयोजनाको काम रोकिन्छ। ठेक्का विसर्जन गरौँ।'
साउन २९, २०८० सोमबार १७:३५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।