महेश बस्नेतलाई पढाएका ऋषव सर भन्छन्- ‘निडर त थियो तर उत्ताउलो स्वभाव थिएन’

महेश बस्नेतलाई पढाएका ऋषव सर भन्छन्- ‘निडर त थियो तर उत्ताउलो स्वभाव थिएन’

३५ वर्ष शिक्षण पेशामा बिताएपछि उमेर हदका कारण अवकाश पाएका ऋषवदेव बुढाथोकी अहिले पेन्सनको काम सकाउन लागि परेका छन्। विद्यालय आउजाउ चलिरहेकै छ। त्यै भएर उनलाई आफू ‘रिटायर’ भएर बसेको महसुस भएको छैन। तर, अब के गर्ने होला भनेर सोच्न भने थालिसकेका छन्।

ललितपुर जिल्लाको फुलचोकी माध्यमिक विद्यालय र महेन्द्र शान्ति विद्यालयमा उनले सबैभन्दा धेरै काम गरे। सँग-सँगै दुवै विद्यालयमा पढाउने प्रस्ताव आएसँगै दुवैलाई स्वीकारे अनि अर्को पेशामा फर्केर हेर्नुपरेन उनले। धेरै ठाउँबाट अहिले पनि पढाउनको लागि प्रस्ताव आए पनि अब भने पढाउन मन लागेको रैनछ।

‘रिटायर भनेर अहिलेसम्म त फुर्सदमा बस्न पाएको छैन। अब पछि चाहिँ दिक्क होला,’ उनले हाँस्दै भने, ‘अब पछि हेरौँ के गर्न मन लाग्छ।’

अवकास पाएका धेरै मानिसहरू बुढेशकालमा तनावमा रहने गरेको उनले सुनेका र देखेका पनि छन्। त्यै भएर त्यसो हुनभन्दा अगाडि नै उनी केहि काममा संलग्न भइहाल्न चाहन्छन्।

टिकाथलीमा जन्मिएका ऋषवले पढ्ने बेला अहिलेको जस्तो सुविधा पाएनन्। पढाइसँगै गाईवस्तु हेर्ने, खेतबारीमा काम गर्ने उनको थप काम हुन्थ्यो। दश कक्षापछि भने उनी खेलतर्फ आकर्षित हुन थाले। उनी ‘जिम्नास्टिक’को राष्ट्रिय खेलाडी पनि हुन्। गाउँमा उनलाई सबैले खेलाडी भनेर पनि चिन्थे।

बिर्सनलायक त्यो १२ वर्ष
अल्लारे उमेरमा उनी साथीहरूसँग घुमिरहन्थे। गाउँमा सानो–सानो कुरामा पनि झगडा हुन्थ्यो।

‘एक जना चस्मा लगाएर हिँडेछ अनि अर्कोले चस्मा लगाएर हिँड्छस्? भनेछ। हिँड्छु भन्दिएछ। त्यसपछि उनीहरूको झगडा परिहाल्यो,’ विगत सम्झँदै उनी भन्छन्, ‘ढुंगा हानाहान भइहाल्यो। केहि घाइते पनि भए। एक जना त त्यसैबेला बितिहाल्यो।’

ऋषवकै साथीहरू भएको उक्त झगडामा उनी पुग्दासम्म २१ जनाको टोली भइसकेको थियो। अनि सबै जनालाई मुद्दा लाग्यो। त्यो मुद्दाको लागि उनले १२ वर्ष झेल्नुपर्यो। वकिल, विभिन्न अदालत गर्दागर्दै बाह्र वर्षपछि सफाइ पाए। 

‘त्यै भएर हो, मैले जागिर खान परेको। दूरसञ्चारमा सुपर भाइजर भएर काम गरेँ। पछि के–के नमिलेपछि छाडिदिएँ,’ उनी भन्छन्, ‘त्यो बेला पनि विज्ञान र गणित विषयको शिक्षकको लागि निकै राम्रो माग थियो। त्यै भएर मैले त झन् एकै पटक दुईटा स्कुलमा पढाउन पाएँ। पैसा पनि धेरै हुने भयो। मेरो खर्च टर्ने भयो भनेर त्यतै लागेँ।’

उनले निजी विद्यालयहरूमा पनि पढाए। फुर्सदको समयमा विभिन्न भाषाहरू पनि सिके। गाइडको तालिम लिए। तर, द्वन्द्व सुरु भएसँगै पर्यटकहरू घट्न थाले। अनि उनी शिक्षणमै व्यस्त भए।

‘गाइड हुन पाएको भए सायद पढाउँदैनथेँ होला,’ उनले भने, ‘मैले गाइड काम गर्न पाइनँ, त्यै भएर पढाउनमै व्यस्त भएँ।’

अब चाहिँ गाइड काम गर्न पर्ला कि! भन्ने उनले सोचेका छन्।

‘महेश बस्नेत उत्ताउलो स्वभावको थिएन’
उनले अहिलेसम्म जम्मा सात वटा स्कुलमा पढाइसकेका छन्। निजी विद्यालय पढाउँदा भक्तपुर जिल्लाकै सबैभन्दा राम्रो मानिने शान्ति निकेतनमा त उनले ४३-४४ सालमा एमाले नेता एवं पूर्वसांसद महेश बस्नेतलाई पनि पढाए।

‘त्यो बेलामा महेश बस्नेत अलि निडर नै थिए। तर उत्ताउलो स्वभावको थिएन। मध्यम खालको विद्यार्थी थ्यो,’ उनले स्मरण गरे, ‘मैले पढाएको विद्यार्थीहरू धेरै जसो इन्जिनियरहरू छन्। केहि आर्मीका कर्नेलहरू एक जना त वीर हस्पिटलको छाला रोग विशेषज्ञ पनि छन्।’

गणित र विज्ञान विषय पढाउने उनी अलि कडा शिक्षकमध्ये पनि गनिन्छन्।

‘जागिर छोड्ने बेलासम्म पनि मेरो कक्षामा बोल्ने, हल्ला गर्ने विद्यार्थीहरू भएन। पहिला धेरै लोकल विद्यार्थीहरू पढाउथेँ। एक चोटी हप्काएँ भने पाँच-छ वर्ष पढाउँदा पनि हप्काउन पर्दैनथ्यो’, उनले हाँस्दै सुनाए।

भूकम्पपछि भने धेरै पहाडका विद्यार्थीहरू आए। उनीहरूलाई कन्ट्रोल गर्नै गाह्रो भएको उनको अनुभव छ।

१६ वर्षसम्म उनी टिकाथली विद्यालय व्यवस्थापनको समितिमा अध्यक्ष भएर बसे। त्यसमा पनि उनले विद्यार्थीहरू धेरैजसो बाहिर जिल्लाबाट आएको पाए। त्यै भएर पछिल्लो समय पढाउन पनि गाह्रो भएको उनी बताउँछन्।

‘सामुदायिक स्कुलमा टन्नै जाँड खाएर अभिभावक आइदिन्छन्’
‘विशेषगरि तामाङ र मगर जातिहरूलाई पढाउन चाहिँ असाध्यै गाह्रो। जति हप्काए पनि नपुग्ने। एउटै कक्षामा उनीहरूलाई पाँच/छ चोटी हप्काउनुपर्ने। कोहि कोहि त पढाइमा राम्रो पनि हुन्थे तर नौ/दशमा पढाउने समयमा उत्ताउला हुने रहेछ। एउटाले अर्कोलाई सोल्टी भन्यो। जिस्किने थाल्ने। कक्षामा पनि चिमोट्ने। म देखेर डराउँथे। पछि फेरि उही ताल’, उनले भने।

ऋषवले निजी र सामुदायिक विद्यालयमा पढाउँदा धेरै फरक पाएको अनुभव सुनाए।

‘निजीमा बच्चाहरू अलि डिस्टर्ब गर्ने हुँदैनन्। बच्चाहरू तुरुन्तै कन्ट्रोलमा आउँछन्। सामुदायिक स्कुलमा चैँ त्यस्तो हुँदैन। अभिभावक आए भने पनि टन्नै जाँड खाएर आइदिन्छन्। बिहानै पनि। निजी स्कुलको भन्दा सामुदायिक विद्यालयमा अलि कम अनुशासन भएको देखिन्छ। तर, पढ्नेमा चैँ निजीमा भन्दा धेरै राम्रो सामुदायिकमै हुन्थ्यो।’

अहिले पनि धेरै पुराना विद्यार्थीहरूले उनलाई सम्झेर फोन गर्दा खुशी हुन्छन्। पिकनिकहरूमा पनि जान्छन् उनी। ज्यान मुद्दामा परेको भएर उनको बिहे ४० वर्षमा मात्र भयो। अहिले ऋषव आमा-बा, श्रीमती र दुई छोरासँगै बस्छन्।

‘ठूलो छोरा बीसीए पढ्दैछ, कान्छो भने छ कक्षामा पढ्छ,’ उनले भने, ‘त्यो मुद्दामा नपरेको भए पीएचडी पनि गर्थे कि!’

जमानाका गाइडको काम सिकेर पनि गर्न नपाएका उनलाई अहिले  आफ्नो त्यो कामना पूरा गर्न मन छ।

‘जे होस्, रमाइलोसँग काम गरियो। ६० वर्ष कटाइयो। आफ्नो कामलाई लिएर खुशी छु,’ आफ्नो आगामी योजना सुनाउँदै उनी भन्छन्, ‘अब गर्यो भने गाइड काम गर्छु। नत्र सामाजिक कार्यहरू गर्छु। तलब लिएर काम गरे पनि शिक्षकको पेशा समाजसेवी नै रहेछ। त्यसबाहेक हेरौँ के हुन्छ। के मनपर्दै जान्छ।’

साउन २९, २०८० सोमबार १७:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।