सुन तस्करी रोक्न देउवाको सुत्र, कर लिएर कारोबार खुला गर्ने, कोटा हटाउने

सुन तस्करी रोक्न देउवाको सुत्र, कर लिएर कारोबार खुला गर्ने, कोटा हटाउने

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुन कारोबार खुला गर्नुपर्ने पक्षमा देखिएका छन्। अहिले नेपाल राष्ट्र बैङ्कले सुन कारोबारमा कोटा पद्धति लगाएको छ। तस्करी नियन्त्रण गर्न भन्दै देउवा कर तिरेर जसले पनि सुन ल्याउन पाउने पक्षमा देखिएका हुन्।

पार्टीको जारी संसदीय दलको बैठकमा उनले कर लगाउने तर जसले पनि सुन ल्याउन पाउने व्यवस्था गर्ने हो भने सुन तस्करी नियन्त्रण हुनसक्ने धारणा राखेको बैठकमा सहभागी स्रोतले जानकारी दियो।

२०५५ सालसम्म नेपालमा विदेशबाट आउने नेपाली नागरिकले सुन १० किलो र चाँदी एक सय ५० किलो ल्याउन पाउने नियम कार्यान्वयनमा थियो।

सुनका कारोबारीहरूले नेपाली नागरिकलाई भरिया बनाएर सुन र चाँदी भित्र्याउन थालेपछि सरकारले सो नियम संशोधन गरेर कोटा पद्धति लागु गरेको थियो।

विदेशी मुद्रा सञ्चिति घट्न नदिन भन्दै अहिले राष्ट्र बैङ्कले निश्चित कोटा तोकेर वाणिज्य बैङ्कहरूमार्फत सुन किनेर ल्याउने अनुमति दिने गरेको छ।

अहिले प्रतिदिन १० किलो सुन मात्र बजारमा पठाउन पाइन्छ। व्यवसायीहरूको दाबी अनुसार नेपाली बजारमा मात्र दैनिक ३० किलो माथिको सुनको माग रहेको छ। उनीहरूले सुनको परिणाम बढाउन माग राख्दै आएका छन्। तर राष्ट्र बैङ्क तयार देखिएको छैन।

नेपालमा भित्रिने अधिकांश सुनहरू तस्करी भएर भारतको बजारमा पुग्ने गरेको छ। केही प्रतिशत सुन चिन समेत पुग्ने गरेको छ। सुनको अधिक माग भएकाले तस्कर समूहले विभिन्न आवरणमा सुन तस्करी गरेर नेपाललाई ट्रान्जिट बनाइरहेका छन्।

हालै मात्र एकै खेपमा एक क्विन्टल सुन तस्करी भएको घटनाबारे राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

साउन २९, २०८० सोमबार १५:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।