कांग्रेस सांसद सुनिल शर्माले सरकारलाई आतंककारी भनेपछि संसद्मा खैलाबैला, एमालेको नाराबाजी

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई जबर्जस्ती पक्राउ गरेर बिनाकारण यातना दिएको भन्दै माओवादी नेतृत्वको सरकारलाई आतंककारी करार गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले आफूलाई यो सरकारले अनाहकमा दुःख दिएको र प्रहरीले हातपात गरेको बताएका छन्।
उनले भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारीहरूको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटि सरकारको नेतृत्व गर्दै हुनुहुन्छ?’
सांसद शर्माको अभिव्यक्तिपछि माओवादी सांसदहरूले उठेर त्यसको प्रतिवाद गरेका थिए। माओवादी सांसद हितरात पाण्डेले आफूहरूलाई आतंककारी भनेको भन्दै प्रतिवाद गरेका थिए।
सांसद पाण्डेले आतंककारी शब्दलाई संसदको रेकर्डबाट हटाउन मागसमेत गरेका थिए। तर नियममा टेकेर भन्न नसकेपछि सभामुख देवराज घिमिरेले त्यसलाई नियमापत्ति नभएकाे भन्दै प्रतिवाद मात्र भएको बताए।
त्यसपछि प्रतिपक्षी एमालेले उठेर नाराबाजी सुरु गरेको थियो। सभामुख घिमिरेले शून्य समय सुरु गर्न एमाले सांसदहरूलाई आग्रह गरे पनि एमालेको नाराबाजी रोकिएन।
एमाले सांसदहरूले ‘सुन तस्करहरूलाई कारबाही गर्’, ‘संसदीय मर्यादा कायम गर्’, ‘सुन तस्करीमा उच्चस्तरीय समिति गठन गर्’ भन्दै नाराबाजी गरेका थिए।
साउन २९, २०८० सोमबार १५:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।