महराका छोरा राहुलले भने- अनुसन्धानमा सघाउने तयार छौँ, प्रमाणित देखिए भागिदार हुन्छौँ

महराका छोरा राहुलले भने- अनुसन्धानमा सघाउने तयार छौँ, प्रमाणित देखिए भागिदार हुन्छौँ

काठमाडौं : सुन तस्करी प्रकरणमा जोडिएको माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले अनुसन्धान प्रकियामा सघाउने बताएका छन्।

सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भएको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत उनले अनुसन्धानमा सघाउने र प्रमाणित देखिए कानून बमोजिम भागिदार हुने बताएका हुन्।

उनले लेखेका छन्, ‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ।’

राहुलले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा आपत्ति र दुख व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफैँ न्यायालय बन्न खोज्नु हो। सञ्चारमाध्यम बाट एकोहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौँ।’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ।

साउन २९, २०८० सोमबार १४:३३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।