आज साउनको अन्तिम सोमबार, पशुपति लगायत शिवालयमा भक्तजनको भीड

आज साउनको अन्तिम सोमबार, पशुपति लगायत शिवालयमा भक्तजनको भीड

काठमाडौं : साउनको अन्तिम सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको धेरै भीड देखिएको हो। 

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठूलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ। 

आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए।

उनका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजन आज शिवालयहरुमा दर्शनका लागि लाम लागेका छन्। पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ। भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए।

साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ। सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरिजल पुगेका थिए।

ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको छ।

साउन २९, २०८० सोमबार १२:३९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।