पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

दमौली : पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ। 

मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गराइएको हो। 

स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ।

राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको हो। आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ। 

शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो।

साउन २९, २०८० सोमबार ११:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।