'भन्सारकै काम सक्काउन ११ घण्टा लाग्छ' भन्दै ढकालले सुधार गर्न दिए सुझाव

'भन्सारकै काम सक्काउन ११ घण्टा लाग्छ' भन्दै ढकालले सुधार गर्न दिए सुझाव

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले कच्चा पदार्थ र तयारी बस्तुबिच भन्सार दर फरक फरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह गरेका थिए।

उनले विश्वका अन्य मुलुकहरूमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए।

'विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ। भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ। तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ' उनले भने।

उनले भन्सारको समय नघटाई निर्यात प्रवर्द्धन हुन नसक्ने बताए।  

उनले विश्व बैङ्कको एक प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महसुल छुट, पुँजीगत सबै वस्तुहरूमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका थिए।

ढकालले वैदेशिक व्यापारमा एकल द्वार प्रणाली लागु गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरूको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्स-रे मेशिन जस्ता न्यूनतम  प्रविधिको प्रयोग गरी भन्सार जाँच पास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताएका थिए।

सोही कार्यक्रममा उनले अहिलेको अर्थतन्त्रको सुधारका लागि लगानीकर्ता र उपभोक्ता दुवैको कन्फिडेन्स बढाउनुपर्नेमा जोड दिएका थिए।

'अहिलेको अवस्थाभन्दा अर्थतन्त्र बिग्रने अवस्था छैन। तर पनि अहिले लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन। यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले सकारात्मक पहल लिनुपर्ने देखिन्छ' उनले भने।

२८ साउन, २०८०, २३:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।