पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला मात्र भएको ओलीको दाबी

पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला मात्र भएको ओलीको दाबी

काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय छिन्। उनले एमालेका नेताहरूसँग सुरु गरेको बाक्लो राजनीतिक भेटघाटलाई एमालेबाट सक्रिय राजनीतिमा आउने अभ्यासको रूपमा विश्लेषण सुरु भयो।

तर एमाले अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर हल्ला चलाएको भन्दै त्यसको खण्डन गरे। उनले त्यसलाई एमालेभित्र समस्या सिर्जना गर्न खोजिएको दाबी गरे।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्व राष्ट्रपति भण्डारीलाई आफूले पनि पटक-पटक भेटेको भन्दै त्यसलाई राजनीतिमा फर्काउने प्रयासको रूपमा बुझ्न नहुने तर्क गरे।

'यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ’ उनले भने' उहाँ एमालेको नजिकको मित्र हो।'  

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी बुढानीलकण्ठ भंगालमा रहेको निजी निवासमा बस्दै आएकी छन्। उनले आफ्नै निवासमा राजनीतिक भेटघाट गर्ने गरेकी छिन्।

उनले पार्टी उपाध्यक्षदेखि लिएर जन वर्गीय सङ्गठनका नेताहरूसँग भेटघाट गरिरहेकी छिन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति भण्डारीसँग भेटेका थिए। त्यसलाई उनी राजनीतिमा पुन सक्रिय हुने सङ्केतको रूपमा हेरिएपछि ओलीले खण्डन गरेका हुन्।

पत्रकार सम्मेलनमा ओलीले भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला मात्र भएको दाबी गरे पनि भण्डारीको अभिव्यक्ति र सक्रियताले उनी राजनीतिमा फर्कने अभ्यासको रूपमा देखाइरहेको छ।

पूर्व राष्ट्रपतिको रूपमा एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले सक्रिय राजनीतिमा फर्कने ५० प्रतिशत सम्भावना भएको बताएकी थिइन्। एमालेमा अध्यक्ष ओलीको उत्तराधिकारी को हुने भन्ने बहस समेत चलिरहेको छ।

राष्ट्रपतिहुँदा पनि उनी राजनीतिक गतिविधिबाट टाढा बस्न सकिनन्। उनले राष्ट्रपति निवासलाई पार्टीभित्र ओली समूहलाई बलियो बनाउने थलोको रूपमा प्रयोग गरेकी थिइन्। नेकपाहुँदा ओलीको पक्षमा उनले दुई पटक संसद् विघटन गराएकी थिइन्। दुवै पटक अदालतबाट प्रतिनिधि सभा ब्युँतिएको थियो। 

साउन २८, २०८० आइतबार २०:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।