दोलखामा वर्षाका कारण तीन जनाको मृत्यु, चार जना बेपत्ता

दोलखामा वर्षाका कारण तीन जनाको मृत्यु, चार जना बेपत्ता

दोलखा :अविरल वर्षाका कारण पहिरोमा परी दोलखामा यो साता मात्रै तीन जनाको मृत्यु भएको छ। त्यस्तै चार जना अझै बेपत्ता छन्। 

अविरल वर्षापछि आज दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका-७ राखामका बाबुछोरा बेपत्ता भएका छन्। आज बिहान घरबाट झन्डै एक घन्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उहाँको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए। 

आज १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलामा पुर्याएकाले बेपत्ता भएको वडा नं श्रेष्ठले जानकारी दिए। 

शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ। बेपत्ता बाबुछोराको घरमा अहिले बूढी आमै मात्र रहेको स्थानीयवासीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताए। 

साउन २८, २०८० आइतबार २०:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।