धनुषा शहीदनगर नगरपालिकाका इन्जिनियरसहित २ जना घुससहित पक्राउ

धनुषा शहीदनगर नगरपालिकाका इन्जिनियरसहित २ जना घुससहित पक्राउ

धनुषा : आइतबार धनुषाको शहीदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ। 

पर्खाल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको आयोगको टोलीले नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो।

आइतबार शहीदनगर-३ स्थित पशु सेवा केन्द्रको भवनबाट ती दुई जनालाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

यस्तै अख्तियारको टोलीले आजै धनुषाको मिथिला विहारी नगरपालिकामा पनि छापा मारेको छ।

ज्येष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको सूचना पाएपछि नगरपालिकामा आयोगको टोलीले छापा मारेको हो।

नगरपालिका-९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै आयोगको कार्यालय बर्दिबासमा उजुरी दिएका थिए। 

वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मानको कुनै कार्यक्रम नगरेको ज्येष्ठ नागरिकहरूले बताएका उक्त निवेदनमा उल्लेख छ।

२८ साउन, २०८०, १८:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।