अब विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष, बढी भएको सामान सजिलै लैजान सकिने

अब विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष, बढी भएको सामान सजिलै लैजान सकिने
फाइल तस्वीर

काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ।

विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइल फोन ल्याउने गरेका र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागीदार हुने गरेका थिए। 

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ। 

सोअनुसार विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो।

विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन।

साथै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन।

मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिए।

उनका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ। 

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजनमात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसार महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ। यसैगरी ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ। रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ।

साउन २८, २०८० आइतबार १७:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।