पैसाको बलमा पार्टी कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध एक हुनु छ : प्रकाशमानसिंह

पैसाको बलमा पार्टी कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध एक हुनु छ : प्रकाशमानसिंह
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्। 

कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँगको भेटमा आज आफ्नै निवास चाक्सीबारीमा भने, 'पैसाको बलमा पार्टी सङ्गठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ। राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायको ध्यानाकर्षण गर्दछु।'

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसङ्ग उल्लेख गर्दै नेता सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गरे। 

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा, व्याप्त भ्रष्टाचार, राज्य संयन्त्रप्रति बढ्दो अविश्वास र राज्यका तीनै तहमा देखिएको अराजकताप्रति राजनीतिक दल र तिनका नेता सचेत रहनुपर्ने धारणा व्यक्त गर्दै लोकतन्त्र, मानवअधिकार र सुशासनको पक्षमा भेटघाट तथा अन्तर्क्रियात्मक अभियान सञ्चालन गरेको स्पष्ट पारे।

साउन २८, २०८० आइतबार १७:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।