अमेरिकाको हवाई जंगलमा १०० वर्षयताकै भयानक आगलागी

अमेरिकाको हवाई जंगलमा १०० वर्षयताकै भयानक आगलागी

अमेरिकाको हवाई राज्यको जंगलमा लागेको आगलागीमा परी ९३ जनाको मृत्यु भएको छ।

अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भीषण आगलागी हो। हवाई गभर्नर जोस ग्रीनले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

सीएनएनका अनुसार गभर्नरले हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको नोक्सानी भएको बताए। 

माउई र लहैनाजस्ता सहरमा २ हजारभन्दा बढी भवन जलेका छन्। गभर्नर ग्रीनका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ।

अर्कातिर अहिले घर फर्किएकाहरु जलेको घर देखेर पीडामा परेका छन्। हवाईको काहुलुई एयरपोर्टको एउटा रनवे राहत सामग्रीका लागि आरक्षित गरिएको छ।

सीएनएनका अनुसार अधिकारी र उद्धारकर्मीहरूले माउईमा लागेको आगोको ८५ प्रतिशत नियन्त्रण गरेका छन्।

यसैबीच लहाइवाको पुलेहु जंगलमा लागेको आगो पनि ८० प्रतिशतसम्म निभाइएको छ। न्युयोर्क टाइम्सका अनुसार डढेलो सहरका रुखको जरासम्म पुगेको छ।

आगो निभाउन हेलिकप्टरबाट पानी खसालिए पनि जमिनमुनिका रुखका जरा जलिरहेकाले आगो फेरि फैलिने खतरा बढेको छ।

साउन २८, २०८० आइतबार १६:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।