बेनी–दरबाङ सडकको विभिन्न ठाउँमा पहिरो, यातायात अवरुद्ध

बेनी–दरबाङ सडकको विभिन्न ठाउँमा पहिरो, यातायात अवरुद्ध

गलेश्वर : शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न  तीन स्थानमा पहिरो गएपछि आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो। पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ।

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताए।

सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँमा जाने यात्रु र यातायातका साधन सञ्चालन हुनसकेका छैनन्। देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका यातायात व्यवसायीले बताएका छन्।

साउन २८, २०८० आइतबार ११:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।