बक्स अफिस रिपोर्ट नछोएका अभिनेता विपिनका कुरादेखि आठ वर्षदेखि कर्णालीमा खटिएका डाक्टरको अनुभवसम्म

बक्स अफिस रिपोर्ट नछोएका अभिनेता विपिनका कुरादेखि आठ वर्षदेखि कर्णालीमा खटिएका डाक्टरको अनुभवसम्म

काठमाडौं : शनिबार विभिन्न राजनीतिक पार्टीले विश्व युवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे। शीर्ष नेताहरूले कार्यक्रममा सम्बोधन गरे। उनीहरूले एकअर्काबीच आरोपप्रत्यारोप जारी नै राखे।

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस माओवादीको पछि लागेको भन्दै व्यङ्ग्य गरे। उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकर भन्दै प्रश्नसमेत गर्न भ्याए। सांसद सुनिल शर्मा पक्राउको विषयमा समेत उनले प्रधानमन्त्रीको कटाक्ष गरे।

यस्तै एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो खेलकुद सम्बद्ध संस्थालाई राष्ट्रिय खेलकुद परिषदमा संलग्न नगराए सरकारमा नबस्ने धुर्की लगाए। सत्तामा बसिरहन आवश्यक नभएको भन्दै उनले प्रधानमन्त्री र खेलकुदमन्त्रीको आलोचना गरे।

त्यसैगरी कांग्रेस नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुलाई विदेशको रटान नलगाउन आग्रह गरे। उनले आफू विदेश बसेर आएको र त्यहाँ एकदमै गाह्रो भएको भन्दै विदेशमा सुनको लंका नभएको टिप्पणी गरे। उनले युवापुस्तालाई प्रविधि र सामाजिक सञ्जालको विकृतिबाट टाढा रहन र टिकटकमा आधा मिनेटको भिडियो हेरेर कुनै पनि विषयमा धारणा नबनाउनसमेत आग्रह गरे।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरे। ललिता निवास प्रकरणमा थप छानविन हुनुपर्ने समेत उनले बताए। गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको भन्दै उनले उच्चस्तरीय आयोगमार्फत त्यसको छानविन गर्नुपर्ने माग गरे।

अब लागौं टप फाइभतर्फः
उकेराले शनिबार विहानै अभिनेता विपिन कार्कीको विषयमा समाचार लेख्यो। उनले अभिनय गरेका फिल्महरुले राम्रो कमाइ गर्न नसकेपछि उनको कमाइ र चर्चाको उचाइ बढेको विषयमा समाचारमा उल्लेख छ। भागवत गीता फ्लप भए त्यसको असर भष्मे डनमा पनि पर्ने निश्चित छ। अब क्यारेक्टर मात्रै हैन विपिनको आगामी करिअरमा बक्स अफिस कलेक्सनको पनि अर्थ हुने पक्का छ।
पूरा समाचारः क्यारेक्टरले बचाएको अभिनेता जसलाई छुँदैन बक्स अफिस रिपोर्टले

दिउँसो उकेराले कि इन्टरटेनमेन्टले आफूखुसी कमेडी क्लब विथ च्याम्पियन्स निर्माण गरेर प्रसारण गर्न खोजेपछि विवाद सुरु भएको विषयमा समाचार लेख्यो। समाचारमा विशाल भण्डारी समूहले कार्यक्रम स्थगित गरे पनि कि इन्टरटेनमेन्टले भने एकलौटी रूपमा कार्यक्रम निर्माण गरेर प्रसारणको तयारी गर्दै प्रोमो नै सार्वजनिक गरिसकेको विषय समेटिएको छ।
पूरा समाचारः ‘कमेडी क्लब विथ च्याम्पियन्स’ कि इन्टरटेन्मेन्टले एक्लै ल्याउन लागेपछि विवाद, अदालत जाने तयारीमा विशाल भण्डारी समूह

यस्तै उकेराले दिउँसो नै लुम्बिनीमा रहेको बाल सुधार गृहको अवस्थाबारे समाचार लेख्यो। क्षमताभन्दा बढी बालबलिका रहेको सुधार गृहमा मापदण्डअनुसार सञ्चालन हुन सकेको छैन। सुधार गृहमा पढ्ने, खेल्नेजस्ता बालबालिकाहरूको आधारभूत बालअधिकारको पनि सम्बोधन नभएको पाइएको छ।
पूरा समाचारः आफैँ बिग्रिएको बालसुधार गृह, कालकोठरी जस्तो भवनमा छैन पढ्ने, खेल्ने व्यवस्था

त्यसैगरी अपरान्हतिर उकेराले बद्री पंगेनीको १० प्रिय सुरबारेको समाचार लेख्यो। समाचारमा उनी आफैँलाई आफ्नो पाँच मनपर्ने गीत र अरुको पाँच मनपर्ने गीतको विषयमा लेखिएको छ र त्यसको कारण पनि उल्लेख गरिएको छ।
पूरा समाचारः बद्री पंगेनीका प्रिय दश सुरः प्रदीपराज पाण्डेको त्यो गीत सुनेपछि म गायक नै होइन जस्तो लाग्छ

साँझपख उकेराले नियमित स्तम्भ उकेरा कोलम अन्तर्गतको डाक्टरको सुखदुःख प्रकाशित गर्यो। विगत आठ वर्षदेखि कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर अमित सिंहको उपचार अनुभव समेट्यो। उनले कर्णालीमा काम गर्दाका अनुभवलाई उकेरासँग साटेका छन्।
पूरा समाचारः डा. अमितको उपचार अनुभवः भिडियो एक्सरे गर्दा नदेखिएको रोग हातैले छाम्दा पत्ता लागेपछि...

साउन २७, २०८० शनिबार २२:०२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।