महिलामाथि हातपात गरेको भन्दै जनप्रतिनिधिविरुद्ध उजुरी

महिलामाथि हातपात गरेको भन्दै जनप्रतिनिधिविरुद्ध उजुरी

सुर्खेत : महिलामाथि हातपात गरेको भन्दै जनप्रतिनिधिविरुद्ध प्रहरीमा उजुरी परेको छ।

वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीय तुलसी रानाले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पञ्चपुरी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सुरज कार्कीसहित तीन जनाविरुद्ध उजुरी दिएकी हुन्।

उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी दर्ता भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। २० हजार रूपैयाँ लिन बाँकी रहेको भन्दै सुरजसहितका केटाहरूले हातपात गरेको रानाको भनाइ छ।

‘सुरज र हामीले पहिला साझोदारीमा सँगै होटेल सञ्चालन गरेका थियौँ। उहाँको २० हजार रुपैयाँ दिन हिसाबमा देखिएको थियो। तर बेलाबखतमा यहाँ खाएको र हामीले दिएको हिसाब गर्दा बराबर भइसकेको थियो,’ रानाले भनिन्, ‘तीन जना केटाहरू ल्याएर म माथि उहाँहरूले हातपात गर्दै लछारपछार गर्नुभयो। शरीरका कपडा च्यातिदिएका छन्। हातमा चोट लागेको छ।’

रानाले दिएको उजुरीमा २५ गते राति पनि श्रीमानसँग झगडा गरेको र २६ गते श्रीमान् नभएको मौकामा आफूमाथि हातपात गरी पसलमा राखेको ३५ हजार रूपैयाँ लिएको उल्लेख छ।

उता वडा सदस्य कार्की भने व्यक्तिगत रूपमा लेनदेन भएकोले हिसाब किताबको विषयमा चर्काचर्की भएको बताउँछन्।

‘मेरो पैसा लिनु थियो। त्यहि विषयमा बारम्बार भन्दा पनि नदिएपछि बोलाबोल भएको हो,’ उनले भने, ‘हामीहरूले हातपात गरेका छैनौं।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत पर्शुराम चौधरीले जाहेरी दर्ता भइसकेपछि घटनाको मुचुल्का र घाउकेश फारम भइसकेको बताउँदै आरोपित कार्कीलाई पक्राउका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जानकारी दिए।

उनका अनुसार शनिबार काम हुन नसकेकोले सोमबार मात्रै आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

साउन २७, २०८० शनिबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।