बद्री पंगेनीका प्रिय दश सुर : प्रदीपराज पाण्डेको त्यो गीत सुनेपछि म गायक नै होइन जस्तो लाग्छ

बद्री पंगेनीका प्रिय दश सुर : प्रदीपराज पाण्डेको त्यो गीत सुनेपछि म गायक नै होइन जस्तो लाग्छ

काठमाडौं : नेपाली लोक तथा दोहोरी गीतमा सदाबहार चर्चामा रहने गायक हुन् बद्री पंगेनी। गीत गायरै देश तथा विदेशको भ्रमण गरिरहेका उनका थुप्रै गीतहरू चर्चित छन्। आफ्नै शब्द र संगीतसमेत भर्न रुचाउने उनका गीतमा प्रेमसँगै सामाजिक सन्देश पाइन्छन्।

गीतसंगीत र कलाकारिता मात्र नभएर पंगेनी खेलकुदप्रेमी पनि हुन्, त्यसमा पनि फुटबलका त डाइहार्ट फ्यान। गतवर्ष कतारमा भएको विश्वकप फुटबल हेर्न उनी रंगशाला नै पुगेका थिए। क्रिकेटमा पनि उनको रुचि छ। स्टार क्रिकेट नामक लिगमासमेत उनी खेलाडीका रूपमा सहभागी भएका थिए।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्षसमेत रहेका उनै पंगेनीले आफूलाई मनपर्ने आफ्ना गीत र अरुका गीतको बारेमा उकेरालाई यसरी कारणसहित सुनाए।

आफ्ना पाँच
मन थिएन जोगी बन्नलाई 

मैले यो गीत एउटा पुरुषको कथालाई हेरेर लेखेको थिएँ। गीतमा मैले एउटा सामाजिक परिवेशलाई समेट्ने कोसिस गरेको छु। एउटा पुरुषलाई सबैभन्दा बढी पीडा त्यतिबेला हुन्छ, जतिबेलदा श्रीमतीले धोका दिन्छे अर्थात पोइला जान्छे। यतिबेला श्रीमान्ले आफूलाई हारेको महसुस गर्छन्। एक गरिब पुरुषको कथालाई गीतमार्फत पोखेकाले दर्शकले यो गीत अत्यधिक मन पराइदिनुभयो। त्यसकारण यो गीत मेरो लागि प्रिय छ। यो गीतमा मलाई गीत लेख्न र लय भर्न कल्पना पंगेनी (श्रीमती)ले पनि सघाउनुभएको छ।

त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू 
खास समयमा गाएको हुँदा हुनसक्छ यो गीत दर्शक स्रोतामाझ एकदमै लोकप्रिय बन्यो। गीतले निम्न मध्यमवर्गीय र निम्नवर्गीय परिवारको कथा बालेको छ। गीतमा गरिबलाई लोकतन्त्र नआएको भाव समेटिएको छ। मलाई के लाग्छ भने यो गीतको सान्दर्भिकता तबसम्म रहिरहन्छ, जबसम्म हाम्रा नेताहरूमा चेत आउँदैन। जतिबेलासम्म उनीहरूमा कुर्सी र धनको मोह हट्दैन, त्यतिबेलासम्म यो गीतले स्रोताको मन जितिरहन्छ। आफैँले लेखेको र लय भरेको यो गीत अहिले पनि विभिन्न स्टेज कार्यक्रममा गाउँदा दर्शकको हुटिङ पाउँछु।

मुस्ताङको स्याउ कुहियो 
यो गीतले सन्देश दिएको छ। नेपालमा उत्पादन भएको स्याउ बजार नपाएर कुहिएको अवस्थामा विदेशी स्याउको मूल्य बढेको विषय यसमा समेटिएको छ। हुने खाने जनता शहरमा बसाइ सरेका छन् भने स्याउ कुहिएर कर्णालीका जनता चिन्तित छन् भन्ने सन्देश समेटिएको छ यसमा। केहि वर्षअघि गाएको यो गीतलाई स्रोताले पनि अत्यधिक मन पराइदिनुभयो। गीतको शब्द र संगीत मेरै हो। भिडियो भने बनेको छैन। यो गीत पनि मलाई अत्यधिक मनपर्छ।

रातो पछ्यौरी 
प्रेम भाव प्रकट गर्ने यो गीतमा एकनारायण भण्डारीको शब्द तथा लय छ भने शकुन्तला थापाले मलाई स्वरमा साथ दिनुभएको छ। गीतको शब्द लय दुवैले स्रोताको मनमा बसिहाल्यो। कहिँ कतै यो गीतको म्युजिक बज्ने बितिक्कै अटोमेटिक म गुनगुनाउन थालिहाल्छु। अर्को कुरा यो गीत जब मैले स्टेजमा गाउँछु, आफैँलाई आनन्द आउँछ अनि दर्शकहरू पनि उठेर नाचेको नाच्यै गर्नुहुन्छ। यो गीतले छुट्टै ऊर्जा दिन्छ मलाई। त्यसकारण पनि यो मेरो लागि प्रिय छ।

दुई पाइला 
एक महिनाअघि मात्र रिलिज भएको यो गीत टिकटकमा सर्वाधिक रुचाइयो। मेरो आफ्नै संगीत र निर्देशनमा बनेकोे गीतको भिडियोलाई पनि दर्शकले रुचाइदिनुभयो। गीतमा माया प्रेम र बिछोडका कुरा समेटिएका छन्।  खासगरि कुनै पनि प्रेम टुट्दै गर्दा एकले अर्कोलाई आरोप लगाउने कुराहरू त हुन्छन् नै। पछिल्लो समयका प्रेमिल जोडीहरूको कथालाई गीतमार्फत प्रस्तुत गरेको छु। गायनमा मलाई एलिना चौहानले साथ दिनुभएको छ भने शब्द नारायण ज्ञवालीको हो।

अरूका पाँच
रैनाश कोटको भिर 

म यहि गीत गाउँदै हुर्किएको हो। यो गीत मलाई सानैबाट सुनेर होला अहिले पनि उतिकै राम्रो लाग्छ। यस गीतको लय, शब्द र स्वर नै राम्रो छ। यस गीतलाई राजेन्द्र लम्साल क्षेत्रीले गाउनुभएको हो भने लय र शब्द पनि उहाँकै छ। यो गीत निकै पुरानो हो।

पैया गुडन लाग्या, बम्बै जान्या रेलगाडीका
मलाई डेउडा भाकामा असाध्यै मनपर्ने गीत हो यो। भोजराज भट्टले गाउनुभएको गीतमा उहाँकै शब्द संकलन छ। यो गीत बेलाबेलामा गुनगुनाइरहेको हुन्छु। म प्राय पुराना गीतहरू खोजेर सुन्ने भएकोले पनि होला पुराना गीतहरू नै मेरो रोजाइमा पर्छन्।

आगो पिएर बाँच्ने 
यो गीतको शब्द, संगीत र स्वर तीनै कुराले मन छुन्छ। गीतलाई लक्ष्मी सिर्जन बजगाईंले गाउनुभएको छ। गीतको शब्द जीवनाथ धमला र म्युजिक नारायण रायमाझीको छ।

थाहै थिएन दिल
प्रदीपराज पाण्डेको गीतहरूमध्ये यो एकदमै मनपर्ने गीत हो। विशेषगरि मलाई उहाँको आवाज मनपर्छ। यो गीतलाई नातिकाजी श्रेष्ठले संगीत गर्नुभएको छ भने बीबी थापाले लेख्नुभएको छ। मलाई यो गीत सुन्दा त्यो समयमा कति फरफेक्ट गाउनुभएको जस्तो लाग्छ। उहाँले गाउनुभएको गीत सुन्दा ‘अहिले हामीले के गाएका रहेछौँ र’ भन्ने आभास दिलाउँछ। कहिले काँही त यो गीत सुनेपछि आफूलाई गायक नै होइन जस्तो लाग्छ।

बिग्रियो चाल पनि 
यो गीतलाई भगवान भण्डारीले गाउनुभएको हो। यो गीतको शब्दमा गाउँमा भएको केटी र शहरमा भएको केटाबीचको प्रेमका कुराहरू छन्। यस गीतको शब्द जस्तै लय पनि सरल छ। भगवान भण्डारीले गाउनुभएको अधिकांश गीतहरू राम्रा छन्। यो गीतमा उहाँको स्वर धेरै राम्रो सुहाएको छ। यो गीत मैले धेरैपटक गुन गुनाएको छु।

साउन २७, २०८० शनिबार १६:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।