विदेश–विदेश नभन्नुस्, त्यहाँ सुनको श्रीलंका छैन : अर्थमन्त्री महत

विदेश–विदेश नभन्नुस्, त्यहाँ सुनको श्रीलंका छैन : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूलाई स्वदेशमै केही गर्न आग्रह गरेका छन्।

युवा दिवसको अवसरमा नेपाल युवा संस्थाद्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले विदेश गए पनि पढेर अनि अभुवन गरेर फर्कन आग्रह गरे।

‘बाहिर सुनले बनेको श्रीलंका छैन, एकदमै गाह्रो छ। किनभने म बसेर आएको हो नि त्यहाँ,’ उनले भने, ‘एकदमै एक्स्ट्रा अर्डिनरी मान्छेले मात्रै केही गरिराको छ नत्र अरुले त्यहि परिधिमा घुमिरहेका छन्, यहाँ त्यहाँभन्दा धेरै अवसरहरू छन्।’

पढ्नकै लागि नेपालमै अवसरहरू भएको भन्दै डिजिटल युगका कारण जानकारीको पहुँचका लागि पनि टाढा वा विदेश नै गइरहन नपर्ने बताए।

‘विदेश जानुभयो भने पनि फर्कनुहोला। नेपाल पनि अहिले विस्तारै विकासको बाटोमा अघि बढेको छ,’ उनले थपे, ‘कोरोना र विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिले अर्थतन्त्रमा समस्या आयो, तर अहिले विस्तारै  त्यो अवस्था हट्दैछ।’

विद्युत्मा देश आत्मनिर्भर भएको बताउँदै उनले कृषि र आईटीको क्षेत्रमा पनि नेपालबाटै राम्रो गर्नसकिने उनको भनाइ छ।

‘आईटी इज ए ग्रोइङ फिल्ड, यसमा धेरै लगानी पनि गर्नुपर्दैन,’ उनले भने, ‘त्यसमा समर्पण र लगावको मात्रै आवश्यकता हो।’

आईटी क्षेत्रबाट कमाएको आय करमा ५० प्रतिशत छुट दिएर सरकारले आईटी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए।

स्टार्टअप र आईटी क्षेत्रमा एकदमै धेरै रकम छुट्याएर त्यसका लागि बिजनेस प्रपोजल राखेर ऋण लिनसक्ने वातावरण सरकारले बनाएको भन्दै मौकाको फाइदा उठाउन आग्रह गरे।

साउन २७, २०८० शनिबार १४:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।