बालकोट पुगेर गगन थापाले भने– ‘शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच हुनुपर्छ’

बालकोट पुगेर गगन थापाले भने– ‘शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच हुनुपर्छ’

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक योद्धा एवं कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औं स्मृति दिवसको अवसरमा शनिबार बालकोटमा आयोजित कार्यक्रममा थापाले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनुपर्ने बताए।

स्वर्गीय कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रूपमा चिनिने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताइन्।

कांग्रेस जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने कांग्रेसका नेता सधैँ जीवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा कांग्रेसले पुर्याएको योगदान जनतामाझ लैजानुपर्ने बताए।

कांग्रेसका जिल्ला सदस्य कवीर राणा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानका बारेमा चर्चा गरे।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गरे। सो अवसरमा ६४ जनाले रक्तदान गरेका थिए।

साउन २७, २०८० शनिबार १४:२५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।