सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंकमा ग्लोबल आइएमई पहिलो
काठमाडौँ : ग्लोबल आइएमई बैङ्क सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैङ्क पहिलो नम्बरमा परेको हो।
अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ। यो कर बैंकले वर्षभरि विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो।
ग्लोबल आइएमई बैंकले गएको आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको थियो। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो।
२१ वटा बैक तथा वित्तीय संस्थाहरू मिलेर बनेको ग्लोबल आइएमई बैङ्क चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठुलो बैङ्क हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्राचार्य छन्।
साउन २७, २०८० शनिबार १२:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।