अब नेपालले कोल्टे फेर्दैछ, युवाहरू देशभित्रै विकास निर्माणमा जुट्नुस् : प्रचण्ड

अब नेपालले कोल्टे फेर्दैछ, युवाहरू देशभित्रै विकास निर्माणमा जुट्नुस् : प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा बोल्दै उनले स्वदेश र विदेशमा रहेका लाखौं युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुट्न आग्रह गरे।

प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे। ‘नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने।

उनले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै त्यसमा आजसम्म झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी दिए।

उनले भने, ‘जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिंदैन।’

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले नेपालको तर्फबाट कृषि उत्पादन वृद्धि र सहकार्यका निम्ति एउट टोली छिट्टै भारत पठाउन लागेको बताए।

साउन २७, २०८० शनिबार १२:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।