'कमेडी क्लव विथ च्याम्पियन्स' कि इन्टरटेन्मेन्टले एक्लै ल्याउन लागेपछि विवाद, अदालत जाने तयारीमा विशाल भण्डारी समूह

'कमेडी क्लव विथ च्याम्पियन्स' कि इन्टरटेन्मेन्टले एक्लै ल्याउन लागेपछि विवाद, अदालत जाने तयारीमा विशाल भण्डारी समूह

काठमाडौँ : कि इन्टरटेनमेन्टले आफूखुसी कमेडी क्लव विथ च्याम्पियन्स निर्माण गरेर प्रसारण गर्न खोजेपछि विवाद सुरु भएको छ। कम्पनीले विशाल भण्डारीको थ्री प्रडक्सन प्रालीसँग मिलेर सो कार्यक्रम उत्पादन गर्दै आएको थियो।

असार ३१ गतेसम्मको सम्झौता अनुसार ६९ एपिसोड प्रसारण भएपछि थ्री प्रडक्सनले कमेडी च्याम्पियन्सको  तेस्रो सिजन निर्माण गर्न कार्यक्रम स्थगित गरेको थियो।

भण्डारी समूहले कार्यक्रम स्थगित गरे पनि उता कि इन्टरटेनमेन्टले भने एकलौटी रूपमा कार्यक्रम निर्माण गरेर प्रसारणको तयारी गर्दै प्रोमो नै सार्वजनिक गरिसक्यो।

जनकारस्रोतका अनुसार कि इन्टरटेन्मेन्टले यस अगाडि कार्यक्रममा रहेकी दीपाश्री निरौलाको स्थानमा राजाराम पौडेललाई लिएको छ भने कार्यक्रम सञ्चालन गर्न विशाल भण्डारीको स्थानमा यमन श्रेष्ठलाई लिएको छ। स्रोतले कार्यक्रमको एक एपिसोड छायाङ्कन गरिसकेको उकेरालाई जानकारी दियो।

अनुमति नै नलिई कार्यक्रम छायाङ्कन गरेको जानकारी पाएपछि थ्री प्रडक्सन प्राली कानुनी प्रक्रियामा जाने तयारीमा रहेको देखियो। थ्री प्रडक्सनका सिओओ सगुन पाण्डेले करार सहमति अनुसार नै कार्यक्रम निर्माण गरी केही समयको लागि स्थगित गरिएको जानकारीदिँदै अर्को पक्षले एकतर्फी रूपमा कार्यक्रम निर्माण गरेमा कानुनी प्रक्रियामा जाने बताए।

'हामीबिच भएको सहमति अनुसार ६९ एपिसोड निर्माण गरेर प्रसारण समेत भइसकेको छ। सम्झौता अनुसार कमेडी नाइट शब्दमा कि इन्टरटेनमेन्टको अधिकार छ  च्याम्पियनको अधिकार थ्री प्रडक्सनको हो। दुवैको सहमतिबिना कमेडी क्लब विथ च्याम्पियन प्रसारण हुन सक्दैन' उनले भने।

उनले सम्झौताको दोस्रो पक्षको सहमतिबिना नै पेलेर उही नाममा कार्यक्रम प्रसारणको तयारी गरेपछि कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताए।

कि इन्टरटेनमेन्टका प्रमुख शशी रिजालले ‘कमेडी क्लव वीथ च्याम्पियन ल्याउने तयारी भइरहेको बताए। तर कहिले ल्याउने भन्ने एकिन नभएको उनले बताए।

असार मसान्तसम्म विशाल भण्डारीसँग सम्झौता भएको र सम्झौता अनुसार भण्डारीले नै कार्यक्रम बन्द गरेको उनले बताए।

'कमेडी क्लव वीथ च्याम्पियन्स  फेरि शो चलाउँदा विशाल भण्डारी र कि इन्टरटेनमेन्टबीच सहमति अनुसार नै चल्ने भन्ने सम्झौता रहेछ? तपाईहरुले एकलौटी चलाउन खोज्नु भएको हो? भन्ने उकेराको जिज्ञासामा उनले भने' सबै चिज सबैको हो नि। एउटाको मात्रै भन्ने हुन्छ र? कमेडी नाइट भने नि,कमेडी गुगल भने पनि कमेडी ओ नै भने पनि चलिरहेको छ नि। यो जसले चलायो थियो उसले नै चलाइरहने कुरो हो नि। यसको केही मतलब छैन।'

कमेडी नाइट विथ च्याम्पियन्स स्थगित गरेको घोषणा गर्दै विशाल समूह।उनले कुन कसको अधिकार भन्न अदालत जानुपर्ने र प्रमाण लिएर आउनुपर्ने समेत बताए। उनले चलेका कार्यक्रम चलिरहनु पर्यो भन्ने मान्यता अनुसार कार्यक्रमको प्रसारणको तयारी गरेको रिजालले बताए।

भण्डारीसँगको सम्झौता असार मसान्तसँगको रहेको र सम्झौता सकिएपछि जोसँग नि गर्न पाइने उनको तर्क थियो। उनले कमेडी नाइट कि इन्टरटेन्मेन्टको र च्याम्पियन्स थ्री प्रडक्सनको रहेकोबारे धेरै बोल्न चाहेनन्।

टिम फुटाउन असफल भएपछि नयाँ टिम !

कि इन्टेरटेन्मेन्टसँग कपी राइट रहने गरी कार्यक्रम निर्माण भयो। बिस्तारै कार्यक्रम हिट हुँदै गयो। कार्यक्रम चलिरहेकै बेलामा थ्री प्रडक्सनले कमेडी च्याम्पियनको तेस्रो सिजनको प्रसारण गर्ने भन्दै कार्यक्रम स्थगित गरे।

तर कार्यक्रम स्थगित गर्नु अगाडि कमेडी क्लब विथ च्याम्पियन्सको टिम जोगाउन भण्डारीलाई निकै सकस पर्यो।

जानकारस्रोतका अनुसार कि इन्टरटेनमेन्टले सोही टिमका केही सदस्यहरूलाई निरन्तरता दिएर कार्यक्रमलाई निरन्तरता दिने प्रयासमा लाग्यो। कार्यक्रमका केही कलाकारहरू पनि राजी भएका थिए।

विशाल अनि दीपाश्री निरौलाले कमेडी च्याम्पियन्स सकिएपछि पुन कमेडी नाइट विथ् च्याम्पियन्सको दोस्रो सिजनको निर्माण गर्ने भनेपछि टिमका सबै सदस्यहरू सहमत भए। अनि भव्य समापन पार्टीको आयोजना सम्भव भएको थियो।

कि इन्टरटेनमेन्टले भुक्तानी दिएन

सम्झौता अनुसार ६९ औँ एपिसोड प्रसारण भइसकेको छ। कार्यक्रम स्थगितको घोषणा समेत भइसकेको छ। तर कि इन्टरटेन्मेन्टले सम्झौता अनुसार थ्री प्रडक्सनलाई अझै रकम भुक्तानी गरेको छैन।

प्रारम्भमा सम्झौता गर्दा १० मिनेटसम्मको विज्ञापन आए सबै कि इन्टरटेन्मेन्टको हुने र १० मिनेटभन्दा बढी विज्ञापन आएमा त्यसको २० प्रतिशत रोयल्टी थ्री प्रडक्सनले पाउने भने पनि कि इन्टरटेन्मेन्टले नदिएको थ्री प्रडक्सन समूहको दाबी छ।

यसबारे कि इन्टरटेन्मेन्टका रिजालसँग जिज्ञासा राख्दा उनले उत्तर नदिई फोन काटे।

मुन्द्रेलाई पनि भएको थियो धोका

कि इन्टरटेन्मेन्टले यस अगाडि जितु नेपालको मुद्रेको कमेडी क्लबलाई पनि यस्तै धोका दिएको थियो। कार्यक्रम राम्रै चलिरहेको बेलामा इन्टरटेन्मेन्टले कार्यक्रमका कलाकार फुलन्देकी आमालाई लिएर अर्को कमेडी शो ल्याउने तयारी गरेपछि जितुको कार्यक्रम नै बन्द भएको थियो।

कि इन्टरटेन्मेन्टले कलाकार उमेश राइलाई लिएर कार्यक्रम फुलन्दे स्पेसल ल्याउन विज्ञापन पनि गरेको थियो। तर कार्यक्रम आएन। फुलन्देकी आमा विशाल समूहमा मिल्न गए। कार्यक्रम हिटहुँदा अन्य कलाकार जमे। फुलन्देकी आमाको क्रेज घट्यो। उनी जम्न सकेनन्।

अहिले मुद्रेले कि इन्टरटेन्मेन्टसँगै मिलेर नयाँ कलाकारहरू जम्मा पारेर पुन कार्यक्रम सञ्चालन गरिरहेका छन्।

साउन २७, २०८० शनिबार १२:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।