भारतबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँ ल्याउँदै गर्दा एकजना पक्राउ

भारतबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँ ल्याउँदै गर्दा एकजना पक्राउ
फाइल फोटो

सिरहा : सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादव कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो। 

बा१२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको रु दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको रु ६ लाख गरी जम्मा रु आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

साउन २७, २०८० शनिबार १०:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।