क्यारेक्टरले बचाएको अभिनेता जसलाई छुँदैन बक्स अफिस रिपोर्टले

क्यारेक्टरले बचाएको अभिनेता जसलाई छुँदैन बक्स अफिस रिपोर्टले

काठमाडौं : फिल्म ‘लुट’को सफलताबाट हौसिएर निश्चल बस्नेतले ‘लुट-२’ बनाए। दुवै फिल्ममा थिए अभिनेता विपिन कार्की। लुटले जुन सफलताको मानक बनाएको थियो त्यसमा दाग लगायो लुट-२ ले। अति लाउड फिल्म असफल भयो।

तेस्रो फिल्म निर्माणको हिम्मत जुटाउन पाँच वर्ष लाग्यो निश्चललाई। तर कार्कीको अभिनय यात्रामा लुट-२ को असफलताको कालो छायाँ परेन। उनको यात्रा अविराम चलिरह्यो, चलिरहेकै छ।

गन्ने हो भने व्यापारिक रूपमा सफल फिल्मको संख्या निकै कम छन् अभिनेता विपिन कार्कीको। तर सफल क्यारेक्टर टन्नै।

लुट व्यापारिक अनि समीक्षक दुवैबाट हिट सूचीमा पर्यो। ‘छड्के’को विन्दु क्यारेक्टर जम्यो। फिल्म पनि जम्यो। ‘ताण्डव’, ‘सुन्तली’, ‘कालोपोथी’ कहिले रिलिज भयो, कहिले उत्रियो दर्शकले सम्झन सकेनन्।

एकै वर्ष उनले ‘पशुपतिप्रसाद‘ अनि ‘जात्रा’ गरे। दुवै हिट भयो। त्यसपछिका फिल्महरू एकपछि अर्को असफल हुन थाले। ‘नाका’मा विषय र क्यारेक्टरको संयोजन हुन नसक्दा अर्ग्यानिक कथा भए पनि असफल भयो। ‘लालपूर्जा’, ‘हरि’ अनि ‘गोपी’ तीन वटै टिकेनन् हलमा। फिल्म ‘प्रसाद’को बाबुराम क्यारेक्टरले जेनतेन धान्यो। 

‘जात्रै जात्रा’, ‘सेल्फिकिङ’ले उनको असफलताको ग्राफ बढायो। व्यापारमा जात्रै जात्रा टिके पनि सेल्फिकिङ टिक्न सकेन।

‘के घर के डेरा’ कतिखेर रिलिज भयो कतिखेर उत्रियो उनलाई नै हेक्का भएन होला। ‘फूलबारी’को व्यापार पनि उल्लेख्य हैन। भारतीय फिल्म ‘एनिमल’मा अभिनय गर्ने गसिप समाचार झैं फिक्का भयो। ‘प्रसाद-२’ सम्झना लायक रहेन।

तर फिल्मको बक्स अफिसको परिणामले कहिल्यै उनलाई फरक परेको देखिएन। हरेक फिल्ममा फरक क्यारेक्टरमा देखिए उनी। प्रसादको बाबुराम होस् या जात्राको फडिन्द्रप्रसाद। नाकाको गोल्डी, छड्केको विन्दु अनि पशुपतिप्रसादको भष्मे डन। हरिको हरि।

यही फरक चरित्र स्वीकार्न सक्ने उनको स्वभावले फिल्म फ्लप भए पनि उनी हिट भइरहे। एकपछि अर्को फिल्मको सुटिङ अनि सुटिङ सकिए लगत्तै नयाँ फिल्महरूको अफर उत्तिकै हुन्छ उनलाई।

अहिलेको अवस्था हेरौं न। उनले अभिनय गरेको प्रसाद-२ फिल्म बक्स अफिसमा फ्लप भयो। तर त्यसले उनको फिल्म यात्रामा असर गरेन। प्रसाद-२ को सुटिङ सकिए लगत्तै उनी ‘भष्मे डन’मा अनुबन्धित भए।

पशुपतिप्रसादको सिक्वेलको रूपमा हेरिएको यो फिल्मसँग विपिनको फिल्मी यात्राको सुखद पक्षहरू जोडिएका छन्। पशुपतिप्रसादको भष्मे डन क्यारेक्टरले नै त हो उनलाई नेपाली फिल्ममा जम्न सघाएको।

उनले भष्मे डनको सुटिङसँगै अर्को फिल्ममा पनि काम गरे, ‘एक भागवत गीता’। झरना थापाको यो फिल्ममा उनले तेस्रोलिंगीको फरक भूमिकामा अभिनय गरे।

यी दुवै फिल्मको हलमा परीक्षण हुन बाँकी नै छ। उता विपिनलाई भने अफरको ओइरो छ। यो बीचमा विपिन जात्राको प्रिक्वेल ‘महाजात्रा’मा अनुबन्धित भइसकेका छन्। जात्रा अनि जात्रै जात्रामा पनि विपिन अनुबन्धित थिए।

महाजात्रा फ्लोरमा गएकै छैन उनी दोस्रो फिल्ममा अनुबन्धित भइसके, ‘काजी’ मा। फिल्म ‘गणपति’ बनाउने टिमले नै फिल्म काजी बनाउन लागेको हो। यसमा उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी छिन्।

दर्शकको माया अनि भाग्यको साथले उनको अभिनय यात्रा लामै जान सक्ने देखिए पनि यो वर्ष रिलिज हुने एक भागवत गीता, पशुपतिप्रसाद-२ भष्मे डनको बक्स अफिस रिपोर्टले भने उनको आगामी अभिनय यात्रामा प्रभाव पार्न सक्छ।

भष्मे डनमा उनी पुरानै क्यारेक्टरमा रहेकाले दर्शकलाई नयाँ स्वाद दिने सबैभन्दा ठूलो चुनौती यसमै देखिन्छ। एक भागवत गीताको ट्रेलरमा उनलाई जसरी देखाइयो फिल्ममा त्यही बराबरको क्यारेक्टर हो भने छड्केको हिट क्यारेक्टर विन्दुमाथि पशुपतिप्रसादको भष्मे डन हाबी भए जस्तै भष्मे डनमाथि एक भागवत गीताको क्यारेक्टर हाबी हुनसक्छ।

एक भागवत गीता फ्लप भए त्यसको असर भष्मे डनमा पनि पर्ने निश्चित छ। अब क्यारेक्टर मात्रै हैन विपिनको आगामी करिअरमा बक्स अफिस कलेक्सनको पनि अर्थ हुने पक्का छ।

साउन २७, २०८० शनिबार ०८:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।