रिसाएका देउवा भेट्न धुम्बाराही गए गृहमन्त्री नारायणकाजी

रिसाएका देउवा भेट्न धुम्बाराही गए गृहमन्त्री नारायणकाजी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतमा राख्न अदालतबाट म्याद नथपिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

शुक्रवारै बसेको काँग्रेसको संसदीय दलको बैठकले समेत शर्मा पक्राउको विरोध गरेका थिए। नक्कली शैक्षिक प्रमाण पत्रमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार शर्मालाई पक्राउ गरेको थियो।

शुक्रवार काठमाडौँ जिल्ला अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि श्रेष्ठ देउवा भेट्न उनको धुम्बाराहीको डेराको घरमा पुगेका थिए।

दुबैबिच भेट भएको पुष्टि भए पनि भेटको विषयवस्तु भने खुलेको छैन। देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पक्राउ परेदेखि नै गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रुष्ट छन्।

त्यसैमा सय किलो सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेका शर्मा पक्राउ परेपछि देउवालाई पार्टीमा समेत दबाब बढेको थियो। शर्मा देउवा निकट सांसद भए पनि आन्तरिक गुटमा उनी शेखर कोइराला समूहका सांसद हुन्।

नोबेल मेडिकल कलेज लगायतको सञ्चालक समेत रहेका उनी विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी भए पनि गठबन्धनबाट उम्मेदवार बनेर प्रतिनिधि सभाको सांसद भइसकेका छन्।

साउन २६, २०८० शुक्रबार २३:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।