‘बोबी’ अभिनेत्री कविताको कविता संग्रह लोकार्पण
काठमाडौं : फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राई लगायतले गुरुङको कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरेका हुन्।
कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका अनुभवलाई कवितमार्फत उतारेको बताइन्।
उनले भनिन्, ‘म राम्रो कवि, साहित्यकार होइन तर लेखेका कवित सबैलाई सुनाउन र देखाउन मन लाग्छ, त्यसैले कविता संग्रह सार्वजनिक गरेकी हुँ।’
गुरुङको सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता संग्रहित छन्। नर्बेमा बसोबास गर्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिक गर्न एक साताका लागि नेपाल आएकी हुन्।
‘भोलिका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला,’ उनले भनिन्, ‘त्यहि भएर नेपाली पाठकमाझ आफ्ना कविता सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ।’
कविता लेखेपछि आफूले सबैभन्दा पहिला श्रीमान्लाई सुनाउने गरेको अभिनेत्री गुरुङले बताइन्।
कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आट र क्षमताको आफू सधै प्रसंसक रहेको बताए।
त्यस्तै चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योती राईले अभिनेत्री गुरुङको कवितामा यर्थाथ र जीवन भोगाइका अनभुव रहेको बताइन्।
कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरू’, ‘भेट्नु छ एकचोटी अब फेरि’ शीर्षकका तीन कविता समेत बाचन गरेर सुनाएकी थिइन्।
अभिनेत्री गुरुङले गतबर्ष ‘म अनि मेरो’ नामक आत्मकथाको पुस्तक ल्याएकी थिइन्।
साउन २६, २०८० शुक्रबार १८:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।