सरकारी छानविनका विषयमा डा. भट्टराईको टिप्पणी- उहाँहरूलाई निल्नु न ओकल्नु भाको छ, नडराए हुन्थ्यो
बुटवल : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशमा भएका ठ्रूलो काण्डहरूको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानविन गर्नुपर्ने बताएका छन्।
भ्रष्टाचार सम्बन्धी मुद्दाहरूको छानविनका लागि उच्च स्तरीय आयोग जरुरी रहेको भन्दै उनले निष्पक्ष छानविन भए मात्र देशमा सुशासन कायम हुने बताए।
शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशको प्रमुख कार्यकारी माथिनै प्रश्न उठेको समयमा उच्चस्तरीय र निश्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए। साथै सबै उच्च स्तरीय छानविनमा आफूले सहयोग गर्नेसमेत उनको भनाइ छ।
‘म त्यो छानविनका लागि सहयोग गर्छु। बालुवाटार जग्गा प्रकरणमा म आफू बयान दिन तयार छु’, नेता भट्टराईले भने।
आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरू उछाल्ने तर, आफ्ना कुराहरू लुकाउने गर्न नहुने उनले बताए।
‘अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन्। उहाँहरू निल्नू न ओकल्नुमा हुनुहुन्छ,’ भट्टराईले भने, ‘उहाँहरू नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भन्ने पक्षमै छु।’
माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्ने बताउँदै उनले विगतका आयोगजस्तो नभई बलियो र निश्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए।
साथै उनले लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय रूपमा स्थापित संस्थामा विवादास्पद पात्र नियुक्त गर्नु गलत रहेको बताए।
साउन २६, २०८० शुक्रबार १६:११:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।