मध्यमधार : दुई वर्षको उमेरमा झाडीमा फालिएका आदित्य, जसले अपांग र समलिंगी भएकै कारण दोहोरो विभेद भोगे

मध्यमधार : दुई वर्षको उमेरमा झाडीमा फालिएका आदित्य, जसले अपांग र समलिंगी भएकै कारण दोहोरो विभेद भोगे

सानोमा आमाको काखमा लडीबुडी गरेको र बाको हात समातेर गाउँ डुलेको याद छैन उनलाई। उनी हुर्केका ठाउँमा दिदी, दाइ, भाइ र बहिनी थिए। तर उनलाई जन्माउने बाआमा थिएनन्।

उनलाई शरीरको देब्रे भाग चलाउन निकै गाह्रो पर्दथ्यो। अहिले पनि बेला बेला दुखिरहने मात्रै होइन उनको देब्रे भाग खासै चल्दैन। सानैमा पोलेको घाउको कष्ट उनले अहिलेसम्म भोगिरहेका छन्। 

तिमीलाई त केटा भनेर ल्याएका हौं, तर केटी जस्तै रहेछौ, तिमी निस्क।

कास्कीमा जन्मेका हुन् उनै आदित्य राई। उनले सुने अनुसार दुई वर्षको हुँदा आगोमा परेपछि उनलाई परिवारले ‘मरोस्’ भनेर फालिदिएछन् झाडीमा। 

कुनै संस्थाले उनलाई उठाएर ल्यायो, हुर्कायो, बढायो र पढायो पनि। जब उनीमा शारीरिक परिवर्तन आउन थाल्यो त्यसपछि फेरि सुरु भयो उनको थप दुःखका दिन।

उनलाई ‘छक्का’, केटी जस्तो बानी भएको, हात नभएको भनेर साथीहरुले होच्याउथें। यति त उनले सहेकै थिए। तर जब उनलाई यौनिकता माथि नै प्रश्न चिन्ह उठाएर ‘होस्टल’बाट निकालियो त्यसपछि सुरु भयो उनको दुःखका दिन।

‘त्यो होस्टल/संस्थामा बस्दा भौतिक रुपमा त मलाई सुखै थियो। खान, लाउन, पढ्न गाह्रो थिएन,’ उनी भन्छन्, ‘सन् २०१३ मा जब एउटा घटना घट्यो, मलाई त्यहाँ बस्न मनै लागेन। अनि हिंडें आफ्नै सुर गर्न।’ 

बिर्सन लायकका ती ५ वर्ष

सन् २०१३ मा उनी होस्टेबाट निकालिए। निकालिनु अघि होस्टलमा उनी महिलाको पोसाक लगाएर नाच्थे। बोली पनि अलि मसिनै थियो। सबैले उनलाई ओइ ‘छक्का’ भनेर बोलाउँथे। अलि बढी हेपाहा व्यवहार उनले भोगे।

उनलाई भित्र भित्रै केटा नै मन पर्थ्यो। सन् २०१३ मा उनले प्लस टु पनि सक्काए। एक दिन होस्टलका वार्डेनले भने, ‘तिमीलाई त केटा भनेर ल्याएका हौं, तर केटी जस्तै रहेछौ, तिमी निस्क।’

उनी वादविवाद गर्ने अबस्थामा थिएनन् र त्यहाँबाट सर्लक्कै निस्किए। बाहिर निस्किएर नि जाने ठाउँ कहीं थिएन उनको। बाआमाले झाडीमा पहिल्यै फालेका। होस्टलमा भेट भएका दाजुभाइ, दिदीबहिनी ‘आफ्ना’ थिएनन्। 

नागरिकता बनाउन बाआमा चाहिने। उनीहरुको अत्तोपत्तो नभएको खुला गर्नुपर्ने। मेरो कोही छैनन् भन्दा पनि असाध्य गाह्रो हुने रहेछ

उनले ती ५ वर्ष यति दु:ख पाएकी मिल्ने भए ती वर्षहरु जिन्दगीबाटै झिकेर फालिदिने बताउँछन् उनी, ‘मिल्ने भए सन् २०१३ देखि २०१८ सम्मको ५ वर्ष झिकेर फालिदिन्थें। यतिसम्म कष्ट भोगें कि सम्झन पनि मन लाग्दैन।’

शारीरिक दु:ख त पाए उनले यो अवधिमा तर आफूलाई चिन्ने मौका पनि पाए। 

जैविक रुपमा पुरुष हुँदा हुँदै आफ्नो स्वभाव किन महिलाको जस्तो, अनि आफूलाई किन पुरुष नै मन पर्छ भनेर बुझ्न पाए उनले। लैंगिक तथा यौनिक अल्पसंख्यक साथीहरुलाई भेटे। ‘जेण्डर ओरिन्टेशन’मा सहभागी भए। 

यसपछि उनले थाहा पाए कि उनी जस्तालाई समलिंगी पुरुष भन्ने रहेछन्। उनी जस्तै साथीहरु धेरै रहेछन्। त्यसपछि उनी साथीहरु माझ बिस्तारै खुल्न थाले।

तर उनले फेरि एउटा विभेद भोगे। सानोमा पोलिएर उनको शरीरको देब्रे भाग राम्रोसँग चल्दैन। देब्रे हातको हत्केला छैन। सबैले उनलाई हात नभएको भनेर होच्याउन थाले।

‘मैले मेरो यौनिकता त थाहा पाएँ तर हाम्रै कम्युनिटीका साथीले हात नभएको मान्छे भनेर नम्बर सेभ गर्नुहुँदो रहेछ,’ उनले भने, ‘समलिंगी भएकै कारण विभेद भोग्नुपरेन तर अपांग भएकाले फेरि विभेद भोग्नुपर्याे। अनि मलाई लाग्यो लैंगिक तथा यौनिक अल्पसंख्यक भित्रका अपांगता भएका व्यक्तिले दोहोरो विभेद भोगिरहेका छन्।’ 

यता अपांगता भएका साथीहरुले तपाईं लैंगिक तथा यौनिक अल्पसंख्यक हो भने एलजीबीटिआईक्यू अन्तर्गत संस्थामा जानु भन्ने उता अल्पसंख्यक साथीहरुले अपांगता भएको व्यक्तिको संस्थामा जानु भन्ने।

नागरिकता बनाउन उनलाई उस्तै सकस पर्याे। विभिन्न संघ संस्थाको सहयोगमा उनले नागरिकता त बनाए। नागरिकता बनाउँदाको तीतो अनुभव भने उस्तै छ। 

‘नागरिकता बनाउन बाआमा चाहिने। उनीहरुको अत्तोपत्तो नभएको खुला गर्नुपर्ने। मेरो कोही छैनन् भन्दा पनि असाध्य गाह्रो हुने रहेछ,’ आदित्यले भने, ‘त्यसमाथि बैंक खाता खोल्न तीन पुस्ते विवरण खुलाउनुपर्ने। म कस्को मान्छे हुँ भनेर थाहा नहुँदा पाइला पाइलामा जवाफ दिनुपर्ने रहेछ। साह्रो कष्ट भोगेर नागरिकता निकालियो।’

अहिले उनीसँग नागरिकता, राहदानीदेखि सबै कागजात छ। उनी भन्छन्, ‘जन्मकै आधारमा पाउनुपर्ने सरकारी कागजात पाउँदा पनि दंग हुने अबस्था रह्यो मेरो लागि।’

दोहोरो विभेद भोगिरहेछन् फरक क्षमता भएकाहरु

परिवारले लैंगिक तथा यौनिक अल्पसंख्यक अन्तर्गतका आफ्ना सन्तानलाई सहजै स्वीकार्दैन। विवाह तथा धर्म सन्तान राख्न पाउने अधिकारबाट कानुनले वञ्चित गर्छ। त्यसमाथि फरक क्षमता भएका व्यक्तिलाई भने थप विभेद पनि भोग्नुपर्छ।

आदित्यका अनुसार एक त लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हुनु त्यसमाथि अपांगता पनि हुनु सारै धेरै दुःखद हो हाम्रो समाजको लागि। धेरै हेरचाह चाहिने, कतिपय काम आफैं गर्न नसक्ने हुँदा धेरै विभेद भोग्नुपरेको उनको बुझाइ छ। 

एकताका त उनलाई निकै अप्ठ्यारो पर्याे। यता अपांगता भएका साथीहरुले तपाईं लैंगिक तथा यौनिक अल्पसंख्यक हो भने एलजीबीटिआईक्यू अन्तर्गत संस्थामा जानु भन्ने उता अल्पसंख्यक साथीहरुले अपांगता भएको व्यक्तिको संस्थामा जानु भन्ने।

यता न उताको भएको महसुस गरेका थिए उनले। त्यसपछि उनलाई लाग्यो लैंगिक तथा यौनिक अल्पसंख्यक भित्रका अपांगता भएका व्यक्तिहरुको छुट्टै संस्था खोल्नुपर्छ। 

सानैदेखिको टर्चर, परिवार नहुनुको पीडा, त्यसमाथि अपांगता हुनुको मानसिक र शारीरिक पीडा। त्यही कारण हो कि केही महिना अघि त म झन्डै डिप्रेसनमा पुगेको।

अहिले उनी ब्लु डाइमण्ड सोसाइटीमा पनि काम त गर्छन् नै सँगै आफैंले खोलेको संस्थामा पनि फरक क्षमता भएका व्यक्तिको हकमा काम गर्छन्। आदित्यलाई आफैं संस्था चलाउन सक्ने बन्न कम्ती सकस भएन। 

संस्था दर्ता त भयो नै। तर कार्यालय राख्ने ठाउँ पाएनन् उनले। धुम्बाराही क्षेत्रमा एउटा घरको एक तलमा भाडा समेत पक्का गरेर आएछन्।

तर घरबेटीले आदित्यको साथीलाई त्यो भाइको त एउटा हात पनि रहेनछ, त्यसमाथि केटी जस्तो रहेछ भाडामा नदिने भनेछन्। पछि आदित्य बुझ्न जाँदा अहिले कसैलाई भाडा नदिने बताइदिए। यसपछि अहिले उनले कार्यालय त राखेका छन् तर त्यो पनि ३/४ ठाउँमा रद्द भएपछिको हो। 

नेपालमै केही गर्ने धोको

आदित्यले स्नातकसम्म पढेका छन्।  एक्लैले कोठा भाडादेखि सबै रकम जुटाउनु पर्ने हुँदा स्नातकोत्तर अध्ययन गर्न नपाएको बताउँछन् उनी।

‘मेरो शरीर बिरामी भइरहन्छ। त्यसमाथि घर खर्च नै मैले चलाउनुपर्ने,’ उनले भने, ‘दुई संस्था पनि मैले नै चलाउनुपर्ने। खर्च कै कारण स्नातकोत्तर पढ्न सकेको छैन। कुनै दिन सकें भने पढ्ने हो।’ 

सबैतिरको तनावले गर्दा केही महिनाअघि उनी झन्डै डिप्रेसनको सिकार पनि भए। ‘सानैदेखिको टर्चर, परिवार नहुनुको पीडा, त्यसमाथि अपांगता हुनुको मानसिक र शारीरिक पीडा,’ उनले भने, ‘त्यही कारण हो कि केही महिनाअघि त म झन्डै डिप्रेसनमा पुगेको। काउन्सलिङ नै गर्नु परेको अबस्था आइलागेको थियो।’

तर उनी आफैं समालिए। केही साथीहरुले सम्झाए। उनी फेरि पुरानै लयमा फर्कंदै छन्। 

फुर्सदको बेला चित्र पनि बनाउने उनी केही स्केचहरु बनाएर बेच्छन् पनि​​​​​​। दुई संस्थाको काम र फुर्सदको बेला चित्र बनाएर बितिरहेको छ उनको जीवन। 

आदित्यलाई नेपालमै बसेर फरक क्षमता भएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हितमा काम गर्नुछ। उनी भन्छन्, ‘विदेश जाने अफर पनि नआएको होइन। तर मलाई केही समय अझैं यहीं काम गर्नुछ।’ 

मध्यमधारका अन्य सामग्री

साउन २६, २०८० शुक्रबार १३:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।