नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिए।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र त्यसका लागि साउन ३१ गते औपचारिक समारोहको समेत आयोजना गरिने तय भएको छ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्या भोग्नुपरेको भन्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरेर अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिए।

छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए।

साउन २६, २०८० शुक्रबार १०:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।