चितवनमा डेंगुबाट एक जनाको मृत्यु, ३० कैदीबन्दीमा आँखा पाक्ने समस्या देखियो

चितवनमा डेंगुबाट एक जनाको मृत्यु, ३० कैदीबन्दीमा आँखा पाक्ने समस्या देखियो

भरतपुर : डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो।

चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए।

पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले बताए।

चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। जसमध्ये चार जना चितवनका थिए।

कैदीबन्दीमा आँखा पाक्ने समस्या  
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको कारागारका ३० जनामा आँखा पाक्ने समस्या देखिएको कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलले जानकारी दिए।

चार दिनदेखि देखिएको समस्या अहिले फैलँदै गएको हो। सङ्क्रमितलाई छुट्टै कोठामा राखेर आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले बताए।

कारागारको क्षमता २५५ पुरुष र २५ महिलाको भए पनि अहिले ७१३ पुरुष र ४७ महिला कैदीबन्दी छन्। यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए।

साउन २६, २०८० शुक्रबार १०:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।