५५ नयाँ गाउँपालिकाको ग्रामीण भेगमा एनसेलको पहुँच, ३ सय ३८ बीटीएस थपिए
काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले एक वर्षमा थप ३ सय ३८ बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) जडान गरेको छ।
सेवा विस्तारकाक्रममा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा नयाँ बेस ट्रान्समिसन स्टेसन जडान गरेको हो।
सेवा विस्तार भएका नयाँ स्थानहरूमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू रहेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरू, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरू लगायतका ठाउँहरूमा पहिलो पटक फोरजी सेवा विस्तार गरिएको हो।
गत आर्थिक वर्षमा एनसेलले २८३ नयाँ टावरहरू विस्तार गरेको थियो। यी मोबाइल टावरहरू सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको कम्पनीको विवरणमा उल्लेख छ।
लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, मधेस प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएको कम्पनीले जानकारी दिएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु एनसेलका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन्
'हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौँ,' उनले भनेका छन्।
उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै एनसेलका ग्राहकहरू र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न निरन्तर काम गरिरहेको उनले बताएका छन्।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झन्डै १,४५० मोबाइल टावरहरूको स्तरोन्नति गरेको जानकारी समेत दिएको छ।
यसरी स्तरोन्नति गरिएका टावरहरुमध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका छन्। त्यसैगरी गाउँपालिका स्तरमा जडित चार सय ४० बढी टावरहरूको स्तरोन्नति गरिएको छ।
यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावरहरुको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
ग्राहकहरूलाई फोरजी अन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरि एनसेलको ४ हजार भन्दा बढी फोरजी टावरहरू सञ्चालनमा छन्।
साउन २५, २०८० बिहीबार २३:१५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।