‘राजा महेन्द्रले धाप मारेपछि म कुमार बस्नेत भएँ’
वि.सं. १९९७ मा काठमाडौंको कमल पोखरीमा जन्मिएका चर्चित लोक गायक हुन् कुमार बस्नेत। सानैबाट गायनमा रुचि भएका बस्नेतका ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता गीत अझै चर्चित छन्।
नेपालमा राष्ट्र बैंक खुलेको दोस्रो वर्षदेखि अर्थात् वि.सं.२०१४ देखि सहायक पदमा जागिर सुरु गरेका बस्नेत जागिरसँगै लोक गीत संगीतलाई पनि निरन्तरता दिए। गायन, नृत्य र बाजा बजाउनसमेत निकै सिपालु उनले राजा महेन्द्रसँगै २०१९ सालमा भारत भ्रमण गरेका थिए।
लोकगीत सङ्कलन र गायनमा आफ्नो सम्पूर्ण जीवन बिताएका गायक बस्नेतले उकेरासँग आफ्नो अनुभव साटे।
बाल्यकाल
काठमाडौंको कमलपोखरीमा जन्मिएका कुमार बस्नेतको बाल्यकाल काठमाडौं र दोलखामा बित्यो। उनका हजुरबुवा भने दोलखाबाट काठमाडौंमा बसाइ सरेर आएका। कमल पोखरीको रसियन रसियन कल्चरसँगै घर भए पनि पछि सरकारले त्यहाँका जग्गा लिएर बालुवाटरमा दिएको उनी बताउँछन्।
‘धेरैले बालुवाटारको जग्गा राजाले दिएको भन्ने गरेका छन्। त्यसो होइन,’ उनले भने, ‘जग्गा सरकारले आफूलाई पायक पर्ने लिएर उता(बालुवाटारमा) नामसारी गरिदिएको हो।’
यो मान्छेले राम्रो नाच्छ डाक्टर साव भनेर धर्मराजले भनेपछि राखन तिम्रो जिम्मामा भने। धर्मराज पार्टीको मान्छे रहेछ मलाई के थाहा?
आमा र हजुरआमा दोलखा नै बस्ने भएकाले कुमार स्कुल बिदा भएको बेलामा घर जान्थे। त्यो बेलामा हिँडेर घर जान पाँचदिनसम्म लाग्ने उनी बताउँछन्।
कुमारका बुवा राम्रो फुटबल खेलाडी र आर्मी अफिसर पनि भएकाले उच्च पदस्थ अधिकांशले चिन्थे। त्यसकारण कुमारले पनि आफूलाई चिनाउन त्यति गाह्रो भएन। बुबाकै कारण वीपी कोइराला, मात्रिका कोइरालादेखि राज परिवारसँग पनि राम्रो चिनजान भयो उनको।
‘बुबा नाटक संघको जनरल सेक्रेटरी, नेपाल फुटबल एशोसेसनको जनरल सेक्रेटरीमा कार्यरत हुनुहुन्थ्यो। त्यो समयमा बुवालाई जसले पनि चिन्थ्यो,’ उनले विगतका कुरा सम्झँदै भने, ‘सत्यमोहन जोशी, लक्ष्मीप्रसाद देवकोटा, भिमनिधी तिवारी, बालकृष्ण सम मेरो बुबाको साथीहरू हुनुहुन्थ्यो। उहाँहरूको भेटघाट हुँदा मलाई मेरो बुबाले लैजाँदा भेटेको थिएँ।’
‘दोलखा जाँदा नेपाले नामले बोलाउँथे’
काठमाडौंमा भन्दा बढी उनको बसाइ दोलखातिर हुन्थ्यो। स्कुल छुट्टी भयो कि दोलखा हानिइहाल्थे कुमार।
‘दोलखा घरमा जाँदा त्यहाँका मान्छेहरूले मलाई कुमार भन्दैन थिए,’ उनले स्मरण गरे, ‘त्यो समयमा नेपाल (काठमाडौं)बाट आएको भनेर धेरैले नेपाले भनेर बोलाउँथेँ। अहिले जस्तो कहाँ पूरा नेपाल भनिन्थ्यो र त्यो बेला।’
निगाले भन्ने ठाउँमा आइपुगेपछि सरकार पक्षका आर्मी र कांग्रेस मुक्ति सेनाबीच गोली हानाहान चल्यो। त्यो दिन कसरी बाँचेर आइयो भनेर सम्झँदा अझै आङ जिरिङ्ग हुन्छ।
काठमाडौंमै जन्मिएर हुर्किए पनि दोलखाले कुमारलाई धेरै कुराको अनुभव गरायो रे। त्यो समयमा भेडीगोठ, चौरीगोठतिर घुमेको र खेतबारीमा पानी लगाएको कुरा अहिले पनि झल्झली सम्झन्छन्र उनी।
‘त्यो समयमा दोलखाका अधिकांशले भोटबाट नुन ल्याउने चलन थियो। नेपालमा नुन नभएपछि हाम्रातिरका बलिया बाँङ्गाहरू नुन लिन भोट जान्थेँ,’ उनले सम्झिए, ‘भोट जादा के गर्थे भने एक पाथी चामलको एक पाथी नुन आउँथ्यो। कहिलेकाहिँ सस्तो भयो भने दुई पाथी नुन आउँथ्यो।’
एक हप्ता हिँड्नुपर्ने भएकाले केटाकेटीहरूलाई भोटमा नुन लिन पठाइँदैनथ्यो त्यो बेलामा। तर, कतिपयले भने भरिया लगाएर नुन लिन पठाउँथे रे। उनीहरूले ती भरियालाई चामल दिने गरेको उनी सम्झन्छन्।
‘यताका मात्र होइन उताका शेर्पा समुदायका मान्छेहरू पनि दोलखा विभिन्न सामान साट्न आउँथे। उनीहरू यता आएपछि घर–घरमा नाच देखाउँथे,’ उनले सम्झिए, ‘त्यो पनि बाँसमा जेम्नास्टिक खाल्का। उनीहरूले नाचेपछि आमाहरूले एक पाथी चामल, एक मोर दाम दिनुहुन्थ्यो।’
सात सालको क्रान्तिमा झन्डै मरियो
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना हुनुअघि सरकार पक्ष र कांग्रेसका मुक्ति सेनाबीच गोली हानाहान हुथ्यो। त्यो समयमा उनी मात्र १० वर्षका थिए। काठमाडौं र दोलखा ओहोरदोहोर गरिरहन्थे उनी।
राजाले मलाई भारत भ्रमणमा नलगी सुखै थिएन। नाच्न, गाउन र बाजा बजाउन जान्ने म नै थिएँ।अरुलाई सबै कुरा आउँदैनथ्यो। त्यसकारण म छनोटमा परेँ।
‘सात सालको क्रान्तिको बेला म, हजुरआमा र आमा दोलखामै थियौँ। कांग्रेसले लुट्छ भन्ने हल्ला चलेको थियो। त्यहि बेलामा हामी सबै दोलखाबाट डरले भागेर काठमाडौं आउदै थियौँ,’ उनले सुनाए, ‘निगाले भन्ने ठाउँमा आइपुगेपछि सरकार पक्षका आर्मी र कांग्रेस मुक्ति सेनाबीच गोली हानाहान चल्यो। त्यो दिन कसरी बाँचेर आइयो भनेर सम्झँदा अझै आङ जिरिङ्ग हुन्छ।’
दुवैतर्फबाट भिडन्त हुँदा बाँचिन्छ भन्ने कुमारलाई लागेको थिएन रे।
उनी अझै थप्छन्, ‘दुवैतर्फबाट भिडन्त चलिरहेको बेला कसो-कसो सिन्धुपाल्चोक कट्न भ्याइसकेका थियौँ।’
केआइ सिंहको अधिवेशनमा भैरहवामा
२०१३ सालमा बुवाको सुब्बा भएर तौलिहवा सरुवा भएपछि कुमार पनि उतै गए। त्यहाँ पढाइसँगै राजनीतिमा पनि चासो राखे उनले। त्यहि समयमा त्यहाँ केआई सिंहको अधिवेशन रहेछ।
केआई सिंह नेपालको वीसौं प्रधानमन्त्री हुन्। २०१४ साउनदेखि कात्तिकसम्म उनले नेपालको प्रधानमन्त्री भएका थिए।
‘१३ सालमा भैरहवामा केआई सिंहको अधिवेशन रहेको थियो। त्यहाँ मलाई चिन्ने अधिकांश काठमाडौंबाट पुगेका रहेछन्। मलाई पनि बाटैमा धर्मराज थापाले चिनेपछि यो केटो निकै राम्रो छ हजुर भनेर केआई सिंहको अगाडि राखिदिए,’ उनले मुसुक्कै हास्दै भने, ‘यो मान्छेले राम्रो नाच्छ डाक्टर साव भनेर धर्मराजले भनेपछि राखन तिम्रो जिम्मामा भने। धर्मराज पार्टीको मान्छे रहेछ मलाई के थाहा?’
पार्टीमा आवद्ध भएपछि गाउन नाच्न थालेका उनले भारतको सिक्किमका विभिन्न स्थानमा ६ महिना बिताए। उनले त्यहाँ असाध्यै नाम कमाए।
राजाहरूले गीत गाउन दरबारमा बोलाएर स्याबास बाहेक केहि दिँदैन थिए। केहीले भने दशैंमा यसो खर्च पाउँथे, नत्र त्यहि पनि थिएन।
उनले सम्झिए, ‘भैरव दलको कुमार भनेर निकै चर्चामा आएँ। पढाइ छाडेर नाच्न र गाउन थालेपछि बुवाले गाली गर्दै नाचेर गाएर मात्रै हुन्छ। बुढेसकालमा तलाई कसले हेर्छ। बरु अरु केहि काम गरे हुन्थ्यो नि! भन्नुभयो।’
बुवाले गाली गरेपछि उनले राष्ट्र बैंकमा वि.सं. २०१४ सालमा सहायक पदमा जागिर खान थाले। त्यसपछि उनले आफ्नो गायननलाई पनि निरन्तरता दिए।
त्यसको दुई वर्षपछि २०१६ मा कलाकारलाई कलकत्ता गीत रेकर्ड गर्न पठाउनका लागि आवेदन दिन भन्दै गोरखापत्रमा सूचना छापियो। कुमारका साथी रवीन्द्रले उनलाइ हौस्याएछन् र भनेछन्, ‘रेडियो नेपाल निवेदन हाल्दे कुमार।’
स्वर परीक्षा पास भएको खण्डमा कलकत्तामा गीत रेकर्ड गरिदिनेसम्मको व्यवस्था भएको थाहा पाएपछि कुमारले पनि निवेदन दिए। स्वर परीक्षामा सहभागी भए। त्यहिँ हो उनले स्वरसम्राट नारायण गोपाललाई भेटेको।
‘स्वर परीक्षामा नारायण गोपाल पनि थिए। उनको पछि मेरो पालो आयो। म भित्र जाँदा उनकै कुरा गरिरहेका थिए। जजहरू नातिकाजी, श्यामदास वैश्णव, धर्मराज थापा, प्रकाशमान सिंह थिए,’ उनी सुनाउँदै गए, ‘मैले उनीहरूका अगाडि चारवटा लोक गीत मज्जाले गाइदिए। मेरो ठूलो स्वर उनीहरूको दिमाख नै घुमाइदिए।’
स्वर परीक्षामा नारायण गोपाल फेल भएर आफूसहित गोविन्द गुरुङ र ज्ञानबहादुर श्रेष्ठ पास भएको उनी बताउँछन्।
राजा महेन्द्रको राजकीय भ्रमणमा सहभागी
रेडियो नेपालमा बजेको गीत सुनेर राजाहरूले भोजमा तथा विभिन्न कार्यक्रममा तारादेवी, प्रेमध्वज प्रधान, बच्चु कैलास लगायत पुराना अधिकांश कलाकारहरूलाई दरबारमा बोलाउने गरेको कुमार बताउँछन्।
‘राजाहरूले गीत गाउन दरबारमा बोलाएर स्याबास बाहेक केहि दिँदैन थिए,’ कुमार भन्छन्, ‘केहीले भने दशैंमा यसो खर्च पाउँथे, नत्र त्यहि पनि थिएन।’
मेरो नाच देखेपछि राजा महेन्द्र असाध्यै खुसी भएर धाप मार्नुभयो। यहि समयदेखि म कुमार बस्नेत भएँ।
राजा महेन्द्रको पालामा २०१९ सालमा भारत भ्रमणका कुमार बस्नेत पनि सँगै जाने मौका पाए। नाच्न, गाउन र बाजा बजाउन पनि जान्ने भएकाले आफूलाई भ्रमणमा लगेको उनी बताउँछन्।
‘राजाले मलाई भारत भ्रमणमा नलगी सुखै थिएन। नाच्न, गाउन र बाजा बजाउन जान्ने म नै थिएँ। अरुलाई सबै कुरा आउँदैनथ्यो। त्यसकारण म नै छनोटमा परेँ’, उनले सुनाए।
भारतमा पुगेपछि कुमारलाई गीत गाउन र बाजा बजाउन नदिने अन्य कलाकारले कुरा झिकेपछि हुलदङ्गा हुन खोजको उनी बताउँछन्।
‘राजाको अगाडि मलाई नाच्न मात्रै दिने भन्ने कुरा हुँदै रहेछ तर मलाई यो कुरा मन परेन,’ विगत सम्झिँदै कुमारले भने, ‘कविजीहरू कविता मात्र सुनाउनुस्, नत्र हामी घर लाग्छौँ भनेर थर्काएपछि मलाई तीनै विधामा कार्यक्रम गर्न दिइयो। मेरो नाच देखेपछि राजा महेन्द्र असाध्यै खुसी भएर धाप मार्नुभयो। यहि समयदेखि म कुमार बस्नेत भएँ।’
साउन २५, २०८० बिहीबार २२:३९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।