सिआइबीको अप्रेशन क्वाकमा जोगिएका सांसद सुनिल शर्मा कसरी समातिए अप्रेशन फोस्कस्ट्रोकमा !

सिआइबीको अप्रेशन क्वाकमा जोगिएका सांसद सुनिल शर्मा कसरी समातिए अप्रेशन फोस्कस्ट्रोकमा !

काठमाडौँ : २०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एकाएक चिकित्सक र पाइलटहरू पक्राउ गर्न थाल्यो। तीन जना पाइलट इन्जिनियर अनि ३६ जना चिकित्सक पक्राउ परेको अप्रेसनको नाम राखिएको थियो 'अप्रेशन क्वाक'।

ब्युरोले उस्तै खालको अप्रेशन अन्तर्गत नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित तीन जना चिकित्सकलाई बिहीबार पक्राउ गर्यो। पक्राउ परेकाहरुमाथिको आरोप र २०७३ को आरोप समान छ। बदलिएको छ त प्रहरीको अप्रेसनको नाम मात्रै। अहिले प्रहरीले यसको नाम राखेको छ ‘फोस्कट्रोट’।

ब्युरोले सो अप्रेशन अन्तर्गत शर्मासँगै शिक्षण अस्पतालका चिकित्सक अमित चौधरीलाई समेत पक्राउ गरेको छ। पक्राउ परेका अन्य दुई चिकित्सकको नाम भने खुलिसकेको छैन।

एकै पटक समातिएका थिए ३६ चिकित्सक

ब्युरोले २०७३ मा १० जिल्लामा विशेष अप्रेशन चलाएर एकै पटक ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमाथि तीन आरोप थियो। पहिलो नेपालमा आइएस्सी अध्ययन गरेको तर विदेशमा छात्रवृत्ति पाउन मार्कसिटमा पाएको नम्बर छेडखानी गरिएको। उदाहरणका लागि ३५ नम्बर आएको छ भने ५३ बनाइएको।

 सिम्बोल नम्बरसहितका विवरण सही भए पनि उनीहरूले प्रयोग गरेको मार्कसिटमा भएको नम्बर र परीक्षा नियन्त्रण कार्यालयमा रहेको नम्बर फरक देखिएकाहरू पक्राउ परेका थिए। यसमा परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको समेत मिलेमतो देखिए पनि उनीहरू पक्राउ परेनन्।

दोस्रो भारतमा आइएस्सी अध्ययन गरेर कसैगरी मार्कसिटमा नम्बर छेडखानी गरेको। अनि तेस्रो नेपाल-भारत कतै अध्ययनै नगरी नक्कली सर्टिफिकेट बनाएको।

तीनै प्रकारको आरोपमा त्यो बेलामा काठमाडौँमा १३, ललितपुरमा २, झापा, सुनसरी, पर्सा र दाङबाट एक-एक जना, मोरगंमा तीन, धनुषामा २ र कास्कीमा एक जना पक्राउ परेका थिए।

त्यो बेलामा सिआइबीले पुनम कर्ण, कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालका बुद्धिमान श्रेष्ठ, तिलगंगा आँखा अस्पतालमा कार्यरत लिली राजवंशी लगायत विनीता अधिकारी, रावेतकुमार ठाकुर, बोधित आचार्य, दिपेश पौडेल, गजानन्द भण्डारी, निलिमा महत लगायत ३६ जनालाई पक्राउ गरेको थियो।

नक्कली प्रमाण पत्रको आधारमा पाइलट बनेको भन्दै विशाल कार्की समातिए। नक्कली इन्जिनियर पनि यही अप्रेशन अन्तर्गत समातिएका थिए।

तर सबैले पाए सफाइ

आरोपीहरू पक्राउ परेपछि सिआइबीले ठुलै सफलता पाएझैँ पत्रकार सम्मेलन गर्दै आरोपीहरू सार्वजनिक गरेको थियो। क्वाकहरुमा आतङ्क मच्चिएको पनि थियो।

तत्कालीन प्रधानमन्त्रीको दन्त चिकित्सक समेत नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा समातिएका थिए। तर जब प्रहरीको अनुसन्धानको अदालतमा परीक्षण भयो सिआइबी असफल भयो। अधिकांशले सफाइ पाए।

प्रहरीले उनीहरूमाथि नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा अनुसन्धान गरेर सोही अनुसार सरकारी वकिलको कार्यालयले मुद्दा लैजानुपर्नेमा नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोग लगायो। उनीहरूको आरोपको प्रकृतिले ठगी पुष्टि भएन र सफाइ पाए।

अहिले भने सिआइबीले सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान गर्न सांसद शर्मासहितलाई पक्राउ गरेको दाबी गरेको छ। 

साउन २५, २०८० बिहीबार २०:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।