लुम्बिनीका बाह्रै जिल्लामा फैलियो डेंगु, सबैभन्दा बढी पाल्पामा

लुम्बिनीका बाह्रै जिल्लामा फैलियो डेंगु, सबैभन्दा बढी पाल्पामा

बुटवल : लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु भाइरसको संक्रमण फैलिएको छ। 

प्यूठानमा हालै एक जनामा संक्रमण देखिएसँगै प्रदेशभर नै डेंगु संक्रमण फैलिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ।

अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा यो संख्या कम हो। महाशाखाका अनुसार साउन २४ गतेसम्म सबैभन्दा बढी कोशी प्रदेशमा डेंगुको संक्रमण छ। त्यहाँ ८ हजार ४२० जनामा डेंगु संक्रमण देखिएको छ।

बागमती प्रदेशमा १ हजार ५४७, गण्डकीमा ४८१, सुदुरपश्चिममा ४०४ जनामा डेंगु संक्रमण देखिएको छ। त्यस्तै मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा जम्मा २८ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै पाल्पामा ५३ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलवस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ।

यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १/१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ।

लुम्बिनी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टांगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ।

प्रदेशका अधिकांश जिल्लामा संक्रमण देखिएको हो। केही जिल्लाहरूमा बिरामी अस्पताल भर्ना भएका छन् भने कतिपय घरमै उपचाररत छन्।

साउन २५, २०८० बिहीबार १९:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।