साझा भण्डारका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साझा भण्डारका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत : सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कट्ठा १७ धुर जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले साझाका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरूले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।

आयोगले गीताकुमारी शाहीले बोलपत्रमा अरूको नामको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानि नोक्सानी पुर्याएको पुष्टि भएको भन्दै आयोगले सोही बमोजिम मागदाबी लिएको छ।

साउन २५, २०८० बिहीबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।