खोलाले बगाएर मंगलबारदेखि बेपत्ता पुरुषको शव भेटियो

खोलाले बगाएर मंगलबारदेखि बेपत्ता पुरुषको शव भेटियो

काठमाडौं : महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मंगलबार साँझ बेपत्ता भएका व्यक्तिको बिहीबार दिउँसो शव फेला परेको छ।

सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएको थियो।

उनको शव बिहीबार दिउँसो सोनमा गाउँपालिका–१ को गोबरहिया गाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

गाउँको छेउबाटै बग्ने मरहा खोलामा मङ्गलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए।

बिहीबार नदीमा पानी कम भएपछि शव पानीभित्रै झाडीमा अडिएको अवस्थामा फेला परेको हो।

बेपत्ता भएका उनको मंगलबारदेखि नै परिवार तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले खोजी गर्दै आएको थियो।

साउन २५, २०८० बिहीबार १९:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।