नेकपा बहुमतको नाममा लाखौं चन्दा मागेको आरोपमा दुई जना पक्राउ

नेकपा बहुमतको नाममा लाखौं चन्दा मागेको आरोपमा दुई जना पक्राउ

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा मागेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सल्यान त्रिवेणी गाउँपालिका–५ फालाबाङका धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका चन्द्र प्रकाश विकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

उनीहरूविरुद्ध आपराधिक लाभमा मुद्दा दर्ता गरेर घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन्।

तर, उनीहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो। परियारको साथमा पत्रकार परिचयपत्र समेत थियो।

उनीहरूले तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग दस लाख, सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेका थिए।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोबाइल सन्देश पठाउने गरेका थिए।

उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।

उनले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर तनाब दिने गरेको प्रहरीले जनाएको छ।

साउन २५, २०८० बिहीबार १८:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।