सात वर्षपछि ब्युँतियो सुनिल शर्माको नक्कली प्रमाण-पत्र प्रकरण, सिआइबीले पक्राउ गर्‍यो

सात वर्षपछि ब्युँतियो सुनिल शर्माको नक्कली प्रमाण-पत्र प्रकरण, सिआइबीले पक्राउ गर्‍यो

काठमाडौँ : सात वर्ष अगाडिबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सुनिल शर्मा पक्राउ परेका छन्।

सिआइबीले २०७३ मा नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूबारे विशेष क्वाक अप्रेशन चलाएको थियो।

त्यही बेलामा शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत देखिएपछि प्रहरीले उनलाई खोजेको थियो। शर्मा भने भूमिगत भएका थिए।

शर्माले भारतबाट लिएको आइएस्सीको प्रमाण पत्र नक्कली भएको ब्युरोको अनुसन्धानमा देखिएपछि खोजी सुरु गरेको थियो।

ब्युरोले मुख्यतः भारत र चीनको शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूको शैक्षिक प्रमाण पत्र छानबिन गर्दै ४० बढी चिकित्सक पक्राउ गरेको थियो।

सोही सिलसिलामा शर्माले भारतको बिहार बोर्डबाट लिएको आइएस्सीको शैक्षिक प्रमाण पत्रबारे अध्ययन गर्दा सो फर्जी देखिएपछि ब्युरोले उनलाई खोज्न थाल्यो।

शर्मा त्यो बेला जापान गएर बसेका थिए। उनी केही समय भूमिगत बसे। जब प्रहरीको अनुसन्धान सेलायो उनी सार्वजनिक भए।

यो बिचमा उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेर प्रतिनिधि सभाको सांसद समेत बनिसकेका छन्। त्यसपछि मात्र सिआइबीलाई उनी विरुद्ध रहेको नक्कली शैक्षिक प्रमाण पत्रको विषय उठाएर बिहीबार पक्राउ गर्यो।

उनलाई ब्युरोको प्रहरी टोलीले बिहीबार गोल्फुटारबाट पक्राउ गरेको हो। उनी अहिले ब्युरोको नियन्त्रणमा छन्।

सय किलो सुनको इफेक्ट

शर्मा फर्जी शैक्षिक प्रमाण पत्रको अनुसन्धानमा फरार आरोपी हुन्। तर जुन समयमा ब्युरोले उनलाई पक्राउ गर्यो त्यसले ब्युरोले नै अनुसन्धान गरिरहेको सय किलो सुन तस्करीको प्रकरण समेत जोडिएको देखिन्छ।

शर्मा पछिल्लो समय अर्थमन्त्री डा प्रकाश शरण महतको विपक्षमा उभिँदै उनीमाथि छानबिनको माग राख्दै आएका थिए। संसद् अनि संसद् बाहिर पनि उनले पटक-पटक महतविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए।

महतले बिमा रकम भुक्तानी नपाएर आफ्नो विरोधमा बोलेको दाबी गरेका थिए। शर्माले महतले वडाको निर्वाचन पनि जित्न नसक्ने भन्दै आलोचना गरेका थिए। आलोचनाकै बिच सात वर्षदेखि थन्किएको आरोपको फाइल खुल्दा संयोग मात्रै हैन भन्ने देखाउँछ नै।

शर्मा शेखर कोइराला र महत  काङ्ग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा परिचित छन्। शर्मा देउवाका पनि प्रिय हुन्।

साउन २५, २०८० बिहीबार १७:४७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।