छापिएका करिब दुई लाख लाइसेन्स यातायातमै थन्किए, लिन गएनन् सेवाग्राही

छापिएका करिब दुई लाख लाइसेन्स यातायातमै थन्किए, लिन गएनन् सेवाग्राही

काठमाडौं : एकतर्फ नागरिकले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौं सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन्।

अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ। 

कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन्।

अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एक/डेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ। 

धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारीसाधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए।

एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ‘ट्रायल’ पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ। पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई अनुमतिपत्र छापिने गरेको उनले बताए।

राज्यले दोहोरो परिचयपत्र छाप्नुपर्दा घाटा र अर्कातर्फ यातायात कार्यालयमा अनुमतिपत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको छ।

अहिले कार्यालयमा तीन चार वर्ष पुराना धेरै अनुमतिपत्र रहेका छन्। कतिपय सेवाग्राहीको अनुमतिपत्र लिन नआउँदै अवधि सकिन लागेको छ।

साउन २५, २०८० बिहीबार १७:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।