लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाद्वारा पदभार ग्रहण
बुटवल : नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बिहीबार पदभार ग्रहण गरेका छन्।
बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार समालेका हुन्।
उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे।
पदभार ग्रहणको क्रममा उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाए। उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए।
उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए।
उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताए।
‘मान्छे हो, कहिलेकाँही बुझाइमा समस्या हुन सक्ला। तर मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’, उनले भने।
उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए।
साउन २५, २०८० बिहीबार १६:४९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।